रुपन्देही खबर , ८१ पटक हेरिएको
भैरहवा, माघ २३
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको क्षमता अभिवृद्धि तथा सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्य सहित रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ७ को आयोजनामा प्रथम वडा अध्यक्ष क्रिकेट कप (टि–२०) प्रतियोगिता आज एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ ।

मायादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयको अध्यक्षता तथा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि पोख्रेलले खेलकुद विकास स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाहरूलाई सकारात्मक सोच र अनुशासनतर्फ प्रेरित गर्ने बताउनुभयो । उहाँले गाउँ–गाउँमा रहेका लुकेका खेल प्रतिभा पहिचान गरी अगाडि बढाउन स्थानीय तहले निरन्तर लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “खेलकुद केवल मनोरञ्जन मात्र होइन, यो स्वस्थ समाज निर्माणको आधार पनि हो,” उहाँले भन्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष पाण्डेयले वडा भित्रका युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गराउने, लागूऔषध दुव्र्यसन र नकारात्मक गतिविधिबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो। उहाँले पहिलो पटक वडा स्तरमै आयोजना गरिएको यस प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत् बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो।
यस्तै, विशिष्ट अतिथि सि. न. पा.–१० का वडा अध्यक्ष सुर्जमन यादवले खेलकुदले समाजमा भाइचारा, सहकार्य र आपसी सम्मानको भावना विकास गराउने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले स्थानीय युवाहरूलाई जिल्ला तथा प्रदेश स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मायादेवी गाउँपालिकाका कार्यपालिका सदस्य शोहन प्रसाद रजक, मायादेवी ७ का वडासचिव बिजय कुमार यादव, वडा सदस्य रामनाथ धोबी, सुर्यदेव माबिका प्रधानाध्यापक भरत गिरी लगायत अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, खेलकुदकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितामा मायादेवी गाउँपालिका तथा आसपासका क्षेत्रबाट विभिन्न टिमहरूको सहभागिता रहेको छ। टि–२० ढाँचामा सञ्चालन हुने प्रतियोगिताले केही दिनसम्म खेलप्रेमी दर्शकहरूलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने निष्कर्ष निकालेका थिए। आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै खेलभावनाको उच्च सम्मान गर्दै प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २०२६-०२-०६ , समय : २२:१९:०४ , २ घन्टा अगाडि