रुपन्देही खबर , ४१ पटक हेरिएको
काठमाण्डौ,माघ २८
आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्यान्डले लगातार दोस्रो जित हात पारेका छन्। हिजो बेलुका कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्यो। पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाउँदै १५८ रनमै सीमित रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर १९० रन बनाएको थियो। पाकिस्तानले यसअघि पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो।
त्यस्तै हिजो भएको अर्को खेलमा न्युजिल्यान्डले यूएईलाई १० विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो। न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। हिजोकै पहिलो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ।
टी–२० विश्वकपअन्तर्गत आज पनि तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका नेपाली समयअनुसार बिहान सवा ११ बजे अहमदावादमा प्रतिस्पर्धा गर्दैछन्। दोस्रो खेलमा अस्ट्रेलिया र आयरल्यान्ड दिउँसो सवा ३ बजे कोलम्बोमा भिड्नेछन्। आजको अन्तिम खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बेलुका सवा ७ बजे मुम्बईको वानखेडे स्टेडियममा खेल हुनेछ।
नेपालले आफ्नो दोस्रो खेल भोलि इटालीसँग खेल्दैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ। नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको साँघुरो हार बेहोरेको थियो। यो प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। सुपर–एटमा चार–चार टोली दुई समूहमा विभाजन हुनेछन् भने त्यहाँका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। टी–२० विश्वकपको १०औँ संस्करणको फाइनल खेल आउँदो मार्च ८ (फागुन २४) गते हुनेछ।
प्रकाशित मिति: २०२६-०२-११ , समय : ०७:५०:४७ , २ घन्टा अगाडि