नवलपरासीको सम्भावना दबाएर राख्न दिँदैनौँ : भरत थापा

रुपन्देही खबर , ९४  पटक हेरिएको

परासी,फागुन ६

प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार तीव्र भइरहेका बेला उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन् । यसैक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) ले नवलपरासीलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ ।

चुनावी प्रचारका क्रममा सुनवलको भुमहीमा मतदातासँगको भेटघाट तथा पत्रकारहरूसँगको कुराकानीमा उहाँले पर्यटन विकासलाई आफ्नो प्रमुख लोकप्रिय एजेन्डामध्ये एकका रूपमा अघि सार्नुभयो । उहाँका अनुसार पर्यटनले रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र जिल्लाको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार थापाले देशको कमजोर अर्थतन्त्र सुधार गर्न पर्यटनलाई मुख्य पूर्वाधारका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । पर्यटनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र समृद्धितर्फ डोर्याउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

सुनवल नगरपालिकाको मेयरका रूपमा कार्यरत रहँदा सुनवल हिलपार्क निर्माण गरी जिल्लालाई चिनाउने अवसर पाएको अनुभव स्मरण गर्दै उहाँले हाल उक्त पार्कमा मासिक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने दाबी गर्नुभयो । यसले रोजगारी, स्थानीय उत्पादन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।

नवलपरासीमा रहेका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरू— रामग्राम स्तूप, पण्डितपुर, महलपोखरी, तरगौली ताल, नन्दन ताल, पाल्ही भगवती मन्दिर, तथा जिल्लाकै अर्को क्षेत्रमा पर्ने त्रिवेणी धाम, अनौमा घाट, मदारबाबा, कञ्चनगढी, संसारकोट र बुद्धमंगल ताल जस्ता स्थललाई व्यवस्थित रूपमा विकास गर्न सके जिल्लामा विदेशी पर्यटक भित्र्याउन सकिने उहाँको जिकिर छ ।
जिल्लाको पर्यटन पूर्वाधार विकासमा प्रभावशाली नेताहरूको पर्याप्त पहल नहुँदा नवलपरासी ओझेलमा परेको भन्दै उहाँले अब संगठित योजना र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन पूर्वाधार विकास भएमा स्वरोजगारी बढ्ने, युवा रोजगारी सिर्जना हुने, सवारी साधन सञ्चालन तथा स्थानीय उत्पादनको बजार विस्तार हुने र जिल्लाको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान मजबुत हुने उहाँको विश्वास छ ।

उद्योग–वाणिज्य क्षेत्रमा निजी अनुभव, पर्यटनबारे बुझाइ र हिलपार्क निर्माणबाट प्राप्त अनुभवका आधारमा नवलपरासीलाई पर्यटकीय हब बनाउने विस्तृत योजना रहेको बताउँदै, निर्वाचनमा विजयी भए मन्त्रालय र संसद्मा दमदार रूपमा आवाज उठाएर काम अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा भरत थापाप्रति मतदाताको उत्साह र विश्वास बढ्दै गएको देखिन्छ । विकासप्रेमी र अनुभवी नेताका रूपमा जिल्लाको समग्र विकास हुने अपेक्षा स्थानीयवासीले गरेका छन्

प्रकाशित मिति: २०२६-०२-१८ , समय : १७:२४:१० , २ घन्टा अगाडि