भैरहवालाई पर्यटन हब बनाउँदै सुशासन र विकासको नयाँ खाका :फैज अहम्मद खाँन

रुपन्देही खबर , ११९  पटक हेरिएको

भैरहवा, फागुन ६

प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार तीव्र भइरहेका बेला रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहम्मद खाँन जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा सार्वजनिक गरिरहनुभएको छ । सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर २ र ११ मा घरदैलो कार्यक्रम गर्दै उहाँले जनताको आवाज संसदसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घरदैलो तथा मतदाता भेटघाटका क्रममा खाँनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन र पारदर्शितामा आधारित नयाँ प्रणाली स्थापना गर्ने बताउनुभयो। जनतासँग निरन्तर संवाद गर्दै नीति निर्माण र कार्यान्वयनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उहाँको भनाइ छ।

उहाँले भैरहवालाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ । पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउने उहाँको विश्वास छ । होटल तथा पर्यटन उद्योगमा लगानी सुरक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

स्थानीय विकास निर्माणका क्रममा हुने अनियमितता रोक्ने, भैरहवा भन्सार कार्यालयलाई व्यवस्थित र पारदर्शी बनाउने तथा ड्राइपोर्ट÷आएसिपी लाई रेल सञ्जालसँग जोड्न पहल गर्ने योजना पनि खाँनले सार्वजनिक गर्नुभयो।

शहरी व्यवस्थापनतर्फ सिद्धार्थनगर नगरपालिका–९ मा रहेको अटोभिलेजको व्यवस्थापन सुधार गरी प्रभावकारी सञ्चालन गर्ने, सडक, खानेपानी, ढल, सञ्चार र विद्युत पूर्वाधार विकासलाई तीव्रता दिने उहाँको योजना छ। साथै भैरहवा रिङरोड र बाइपास मार्ग निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

शिक्षा क्षेत्रमा सरकारी विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर वृद्धि गर्दै “एक पालिका, एक नमूना विद्यालय” योजना लागू गर्ने, विद्यालयलाई अनुदानको व्यवस्था मिलाई विद्यार्थीको अध्यापन तथा भर्ना शुल्कमा सहयोग पु¥याउने उहाँले बताउनुभयो।

कृषि क्षेत्रमा कृषिमा आधुनिकीकरण, मल–बीउको सहज उपलब्धता, बिचौलियाको नियन्त्रण, स्वदेशमै मल कारखाना स्थापनाको पहल, कृषि बजार, हाटबजार र कोल्ड स्टोर निर्माण, सिँचाइ विस्तार, ट्युबेल निःशुल्क र कृषि कर न्यूनिकरण गर्ने एजेन्डा अघि सार्नुभएको छ।

विपद् व्यवस्थापनतर्फ दानव, तिनाउ, घाघरा र डण्डा खोलामा बाढी तथा कटान नियन्त्रणका दीर्घकालीन योजना लागू गर्ने उहाँको भनाइ छ। औद्योगिक विकासका लागि क्भ्श् पूर्ण सञ्चालन र उद्योगमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि खाँनले व्यक्त गर्नुभयो।

साथै वातावरण संरक्षणका लागि स्रोतमा नै फोहोर छुट्याउने, पुनर्चक्रण प्रवद्र्धन गर्ने र वैज्ञानिक व्यवस्थापनमार्फत सफा, स्वस्थ र रोजगारीमुखी शहर निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। स्वास्थ्य क्षेत्रअन्तर्गत स्वास्थ्य चौकी तथा अस्पताल विस्तार गर्दै “एक वडा, एक प्राथमिक उपचार केन्द्र” कार्यक्रम लागू गरिने योजना छ।

घरदैलो कार्यक्रमका क्रममा फैज अहम्मद खाँनप्रति मतदाताको उत्साह र विश्वास बढ्दै गएको देखिन्छ । विकास, सुशासन र रोजगारीलाई केन्द्रमा राखेको स्पष्ट कार्ययोजनाका कारण जिल्लाको समग्र विकास सम्भव हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

प्रकाशित मिति: २०२६-०२-१८ , समय : १८:५०:२६ , २ घन्टा अगाडि