रुपन्देही खबर , ९४ पटक हेरिएको
भैरहवा,फागुन ८
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गर्ने भनिएको ‘परिवर्तन उद्घोष कार्यक्रम’ स्थगन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीस्वरूप यही फागुन ९ गते भैरहवामा कार्यक्रम गर्ने तय गरिएको थियो। लुम्बिनी प्रदेशका विभिन्न जिल्लालाई लक्षित गर्दै ठूलो जनसहभागितासहित सभा आयोजना गर्ने तयारी भए पनि संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापनलगायत विशेष कारणले कार्यक्रम हालका लागि स्थगन गरिएको पार्टीले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालयबाट २०८२ फागुन ८ गते जारी पत्रमार्फत संघीय निर्वाचन सम्पादन समितिका संयोजक तथा पार्टी उपसभापति डोल प्रसाद अर्यालले प्रदेश समन्वय सचिव अर्जुन अधिकारीलाई सम्बोधन गर्दै कार्यक्रम स्थगनको निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो।
पत्रमा उक्त निर्णयबाट सरोकारवाला तथा समर्थकहरूमा पर्न सक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै आगामी कार्यक्रमहरूमा साथ, सहयोग र सहकार्यको अपेक्षा गरिएको उल्लेख छ।
यसअघि ‘परिवर्तन उद्घोष कार्यक्रम’ लाई निर्वाचनपूर्व शक्ति प्रदर्शनका रूपमा लिइएको थियो। कार्यक्रमको नयाँ मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २०२६-०२-२० , समय : १२:३३:३९ , १६ घन्टा अगाडि