छातामय बन्दै रुपन्देही क्षेत्र नम्बर १

कृषि क्रान्तिको खाका लिएर असलम खान घरदैलोमा

रुपन्देही खबर , १३१  पटक हेरिएको

भैरहवा,फागुन ८

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ यतिबेला ‘छाता’ चुनाव चिन्हले रंगिन थालेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद असलम खानको चुनावी अभियान तीव्र बन्दै जाँदा गाउँ–टोल, चोक–गल्ली र घर–घरमा छाता चिन्ह अंकित झण्डा तथा प्रचार सामग्री देखिन थालेका छन्।

घरदैलो अभियानका क्रममा क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा पुगेर उम्मेदवार खानले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, कृषि, उद्योग र पूर्वाधार विकाससँग सम्बन्धित जनगुनासा सुन्दै आफ्नो स्पष्ट एजेन्डा सार्वजनिक गर्नुभएको छ।

उहाँले वैज्ञानिक भू–उपयोग नीति लागू गरी कृषि क्रान्तिको माध्यमबाट कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कृषिमा निर्भर गरिब जनताको जीवनस्तर सुधार गर्दै मुलुकलाई विकास, समृद्धि र समुन्नतितर्फ अघि बढाउन ठोस नीति, कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयनमा लैजाने उहाँको मुख्य लक्ष्य रहेको बताउनुभयो।

उहाले किसानहरूलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने, सिँचाइको विस्तार गर्ने, मलखाद, बिऊ–विजन, किटनाशक औषधिको सहज आपूर्ति सुनिश्चित गर्ने र कृषि बजारको प्रभावकारी व्यवस्था मिलाउने एजेन्डा अघि सादै मैदानमा होमिनु भएको छ ।

साथै बिचौलिया नियन्त्रण, हाटबजार तथा कोल्ड स्टोर निर्माण, स्वदेशमै मल कारखाना स्थापना र कृषि कर न्यूनिकरणका लागि पहल गर्ने योजना समेत प्रस्तुत गर्नुभयो।

उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै उहाँले देशलाई औद्योगिकीकरण मार्फत गरिबी, बेरोजगारी र पछ्यौटेपनको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योग, कलकारखाना तथा उत्पादन क्षेत्रमा राष्ट्रिय तथा वैदेशिक पूँजी र प्रविधि भित्र्याउन लगानीमैत्री वातावरण सिर्जना गरिने उहाँको भनाइ छ। उद्योगहरूलाई संरक्षण र प्रोत्साहन दिइने, साना तथा मझौला उद्योगहरूलाई विशेष सहुलियत र प्राथमिकता प्रदान गरिने उहाँले स्पष्ट पार्नुभयो।

त्यसैगरी बढ्दो महँगी नियन्त्रण गर्दै अत्यन्त गरिब र विपन्न वर्गका लागि सस्तो दरमा खाद्यान्न उपलब्ध गराउन ‘रामन कार्ड’ व्यवस्था लागू गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ।

उम्मेदवार खानले “जनताको आवाज नै मेरो राजनीतिक यात्राको आधार हो। जनताले भोगिरहेका समस्या समाधानका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु,” भन्दै मतदातासँग समर्थन मागिरहनुभएको छ।

चुनावी माहोलसँगै रुपन्देही क्षेत्र नम्बर १ मा छाता चिन्हप्रतिको आकर्षण बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ। गाउँ–गाउँमा देखिएको सक्रियता र उत्साहले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रकाशित मिति: २०२६-०२-२० , समय : १३:१२:४५ , १५ घन्टा अगाडि