नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को घरदैलोसँगै मतदाता शिक्षा अभियान

रुपन्देही खबर , १२०  पटक हेरिएको

भैरहवा, फागुन ८

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गते सोमबारदेखि औपचारिकरुपमा प्रचारप्रसार सुरु भएको छ । प्रचारप्रसारअन्तर्गत राजनीतिक दल र उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । सोहीअनुसार रुपन्देहीको निर्वाचन क्षेत्रमा उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन् ।

यसैक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार फैज अहमद खाँनले घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षालाई पनि सँगसँगै अघि बढाउनु भएको छ । उम्मेदवार घरदैलोमा जाँदा नेकपा समर्थक कार्यकर्ताहरुले नमूना मतपत्र लिएर मतदातालाई सही रुपमा मतदान गर्ने तरिकाबारे जानकारी दिँदै हिडेका छन् । विगतका निर्वाचनमा मतपत्रमा छाप लगाउने तरिका नबुझ्दा बदर मतको संख्या उल्लेख्य रहेको भन्दै खांन टोलीले मतदाता शिक्षालाई अभियानका रुपमा अघि बढाएको जनाएको छ ।

‘आफूले चाहेको उम्मेदवार र दललाई दिएको अमूल्य मत खेर नजाओस् भन्ने उद्देश्यले प्रचारप्रसारसँगै मतदाता शिक्षालाई पनि सँगै लिएर गएका हौं । ’ सिनपा २ मेउडिहवा दिलिप प्रजापतिले रुपन्देही खबरलाई भन्नु भयो । हरेक दिन हुने घरदैलो कार्यक्रममा २÷३ जनालाई विशेष रुपमा मतदाता शिक्षाका लागि पठाइने उहाँको भनाई छ । ‘हामी हाम्रो उम्मेदवार र दललाई मत दिनुस् भनेर भन्छौं नै तर हामीलाई मत नदिने मतदाताको भोट पनि सदर होस् भन्ने सोचले यो अभियान लगाएका हौं ।’ नेकपा सिद्धार्थनगरका सचिव समेत रहनु भएको प्रजापतिले जानकारी दिनु भयो ।

यसैबीच आइतबारदेखि निर्वाचन आयोगले देशभरी नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । जसअनुसार रुपन्देहीका सबै १ सय ५५ वडामा प्रत्येक वडामा १/ १ जना स्वयंसेवक खटाएर मतदाता शिक्षा सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको सूचना अधिकारी कल्पना शर्माले रुपन्देही अनलाइन खबरलाई जानकारी दिनुभयो । मतदाता शिक्षा अन्तरगत घरदैलो र टोल टोलमा पुगेर त्यसबारे जानकारी दिइने छ भने नमूना मतदानसमेत सञ्चालन गरिने छ । मतदाता शिक्षा फागुन १७ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०२६-०२-२० , समय : १३:४७:२६ , १५ घन्टा अगाडि