रुपन्देही खबर , १०४ पटक हेरिएको
नवलपरासी, फागुन ८
टाटी(खर र बाँसले बनाइएको घर) मा बसोबास गरिरहेका पाल्हीनन्दन गाउँपालिका विपन्न परिवारका लागि सुरक्षित आवास उपलब्ध गराउने पहिलो योजना रहेको नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा(भरत)ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार थापाले पाल्हीनन्दनका विभिन्न वडाहरुमा गरेको घरदैलो अभियानका क्रममा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

घाम, पानीको ओतबाट समेत छेकिन नसकेका अधिकांश विपन्न समुदायको बसोबास देखेर आफूलाई भावुक बनाएको बताउँदै थापाले उनीहरुलाई उचित र सुरक्षित बासका लागि आफूले पहल गर्ने बताउनुभयो ।
‘सामान्य मानिसको पनि आफ्नै सुरक्षित घर बनाउने सपना हुन्छ । तर यहाँका धेरै दाजुभाई, दिदीबहिनीहरु घाम र पानी छल्नै मुस्किल पर्ने कच्ची घरमा बस्न बाध्य हुनुहुन्छ । आर्थिक अभावका कारण उचित बसोबासको व्यवस्था गर्न नसकेका विपन्न समुदायका लागि आवास निर्माण मेरो पहिलो प्रतिबद्धता हो । ’ थापाले भन्नुभयो ।
घरदैलो अभियानका क्रममा त्यहाँका स्थानीयले झन्डै २ देखि ३ हजार परिवार बाँस र खरले छाएको कच्ची घरमा बस्ने गरेको जानकारी गराएको उल्लेख गर्दै थापाले ती परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन शहरी विकास मन्त्रालयसँग समन्वय गरेर योजनाबद्ध पहल गर्ने बताउनुभयो ।
सुनवल नगरपालिकाको मेयर हुँदा आफूले नगर क्षेत्रमा ‘खरमुक्त घर अभियान’ सुरु गरेको र झन्डै दुई सय घरको व्यवस्थापन गरेको थापाले स्मरण गर्नुभयो । ‘आवास निर्माणका लागि कस्ता प्रक्रिया र पहल गर्नुपर्छ भन्ने अनुभव मसँग छ । त्यही अनुभवका आधारमा पाल्हीनन्दनका विपन्न समुदायको पनि जीवनस्तर सुधार्नका लागि पहल मात्र होइन पूरा गरेर छाड्छु ।’ थापाले भन्नुभयो ।
प्रकाशित मिति: २०२६-०२-२० , समय : २०:२४:५७ , ८ घन्टा अगाडि