पाल्हीनन्दनमा पानी र सडक पहिलो मुद्दा,थापासँग स्थानीयको स्पष्ट माग

रुपन्देही खबर , ७६  पटक हेरिएको

नवलपरासी,फागुन ९

भरत थापा यतिबेला नेपाली कांग्रेस का तर्फबाट नवलपरासी क्षेत्र नं. २ मा चुनावी प्रचारप्रसारमा सक्रिय रहँदै घरदैलो अभियानमा जुटिरहनुभएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय मतदाता तथा अगुवासँग भेटघाट गर्दै उनीहरूको समस्या र अपेक्षा सुन्ने काम गरिरहनुभएको छ।

शनिबार पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ स्थित पडरी टोलमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासीले मुख्य रूपमा शुद्ध पिउने पानीको अभाव र सडक सञ्जालको स्तरोन्नति तत्काल आवश्यक रहेको बताएका छन्।

विपन्न तथा ग्रामीण बस्ती रहेको उक्त क्षेत्रमा अझै पनि धेरै घरधुरी सुरक्षित पिउने पानीबाट वञ्चित रहेको उनीहरूको गुनासो छ। वडा नं. ६ पडरीका स्थानीय धर्मेन्द्र यादवले केही घरमा मात्र धारा जडान भएको र सबैको घरमा पानी नपुगेको बताउँदै सबै नागरिकका लागि शुद्ध पानीको व्यवस्था गर्न आग्रह गर्नुभयो। त्यस्तै सोही ठाउँका स्थानीय रामधारी अहिरले वर्षौंदेखि खानेपानीको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै अब आउने नेतृत्वले खानेपानीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।

स्थानीयले सडक पूर्वाधारलाई पनि विकासको पहिलो आधार मानेका छन्। वडा नं. ६ कै राजकुमार बर्माले नेपाली नहरदेखि भारतीय सीमासम्म करिब तीन किलोमिटर कच्ची सडक अझै कालोपत्रे हुन नसकेको भन्दै गुनासो गर्नुभयो। वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या हुने भएकाले उक्त सडकको स्तरोन्नति अपरिहार्य भएको उहाँको भनाइ छ। यस्तै कैयौँ भित्री सडकहरू स्तरोन्नति हुन बाँकी रहेकाले विकासबाट यो क्षेत्र निकै पछि परेको आफूहरूले महसुस गरेको उहाँले बताउनुभयो।

स्थानीयका गुनासा र सुझावलाई गम्भीरतापूर्वक सुन्दै उम्मेदवार थापाले आफू यस क्षेत्रका समस्याबारे जानकार रहेको र दीर्घकालीन समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो। निर्वाचित भए आधारभूत आवश्यकताबाट वञ्चित नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

प्रकाशित मिति: २०२६-०२-२१ , समय : १८:५४:३५ , २ घन्टा अगाडि