रुपन्देही खबर , १०८ पटक हेरिएको
भैरहवा, फागुन ९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाँ यतिबेला रुपन्देही क्षेत्र नं. ४ मा चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानमा जुटिरहनुभएको छ ।
घरदैलोका क्रममा उहाँले स्थानीय मतदाता, अगुवा तथा युवासँग भेटघाट गर्दै उनीहरूको समस्या र अपेक्षा सुन्ने काम गरिरहनुभएको छ। शनिबार सम्मरीमाई गाउँपालिका वडा नं. १ र २ मा आयोजित कार्यक्रममा स्थानीयवासीले मुख्य रूपमा “मर्चवारमा अब परिवर्तन चाहिएको” धारणा व्यक्त गरेका छन् ।
स्थानीयहरूले सडक सञ्जालको स्तरोन्नति, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, रोजगारीको सिर्जना तथा भ्रष्टाचारमुक्त समाज तत्काल आवश्यक रहेको बताएका छन् । वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवासुविधाबाट वञ्चित रहँदै आएको गुनासो गर्दै उनीहरूले यसपटक परिणाममुखी नेतृत्व रोज्नुपर्ने बताएका छन ।
घरदैलो कार्यक्रममा बोल्दै बनियाँले आफू निर्वाचित भएमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मर्चवार अब अभावको प्रतीक होइन, अवसरको क्षेत्र बन्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले कृषिमा क्रान्ति ल्याउने एजेन्डा पनि अघि सार्नुभएको छ। आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, मल–बीउको सहज उपलब्धता, कृषि उत्पादनको बजार सुनिश्चितता तथा युवालाई कृषि उद्यममा जोड्ने योजना आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो।
“कृषि नै मर्चवारको मेरुदण्ड हो, यसलाई व्यवसायिक र सम्मानित पेशा बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो । घरदैलो अभियानसँगै रुपन्देही–४ मा चुनावी माहोल तातेको छ । स्थानीयवासीले व्यक्त गरेको परिवर्तनको चाहना मतपरिणाममा कसरी रूपान्तरण हुन्छ भन्ने भने अबको निर्वाचनले तय गर्नेछ ।
प्रकाशित मिति: २०२६-०२-२१ , समय : १९:५०:१४ , ३ घन्टा अगाडि