रुपन्देही खबर , ८७ पटक हेरिएको
भैरहवा, फागुन १०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ले राप्रपालाई दिएको मत खेर नजाने र मतदाताले पछुताउनु नपर्ने दाबी गर्नुभएको छ। राष्ट्रहित र नागरिक अधिकारको सवालमा कुनै सम्झौता नगरी अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभयो।
शनिबार रुपन्देहीमा आयोजित राप्रपाको संकल्प यात्रामा सहभागी हुन आउनुभएका अध्यक्ष लिङ्देनले खैरेनी चोक र धकधई बजारमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो। उहाँले मतदान नागरिकको मौलिक अधिकार भएकाले यसलाई सदुपयोग गर्न सबैलाई आह्वान गर्नुभयो। “मतदानमार्फत नै देशको भविष्य निर्धारण हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले आफ्नो मत खेर नफाल्नुहोस्।”
रुपन्देही–१ मा राप्रपाका उम्मेदवार प्रज्जवल बोहराको चुनावी प्रचारका लागि क्षेत्रमा आउनुभएका लिङ्देनले दल र राजाबीच राष्ट्रिय समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो। यस्तो समझदारीका लागि आफूले पटक–पटक आग्रह गरे पनि बेवास्ता भएको भन्दै अब जनताले नै मतमार्फत दबाब सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो।
“नयाँ समझदारी नगरे मुलुक दुर्घटनातर्फ जान सक्छ,” उहाँले चेतावनी दिँदै भन्नुभयो, “राजा र दलबीच देखिएका मतभेद चाँडो समाधान हुनुपर्छ।”
उहाँले २०८४ सालमा हुने आवधिक निर्वाचन ०८२ मै गरिँदैमा समस्याको समाधान नहुने जिकिर गर्नुभयो। निर्वाचनमय वातावरणमा रहेको मुलुकलाई स्थायित्व र सहकार्यको दिशातर्फ लैजान मतदाताको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
२०४६ सालपछिको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक अभ्यासबाट अपेक्षित उपलब्धि हासिल नभएको दाबी गर्दै अध्यक्ष लिङ्देनले विगत ३० वर्षको नेतृत्वको समीक्षा गर्न मतदातालाई आग्रह गर्नुभयो। “यसअघि दिएको मतले के परिवर्तन आयो भन्ने सोचेर मात्र मतदान गर्नुहोस्,” उहाँले भन्नुभयो।
कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्जवल बोहरा उम्मेदवार रहनुभएको छ। युवा नेतृत्वलाई अवसर दिनुपर्ने भन्दै अध्यक्ष लिङ्देनले उहाँको जितले क्षेत्र र देशको प्रतिनिधित्व बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
रुपन्देहीमा राप्रपाले विशाल र्यालीसहित संकल्प यात्रा सम्पन्न गरेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०२-२२ , समय : ०८:५२:२६ , ३ घन्टा अगाडि