रुपन्देही खबर , १०८ पटक हेरिएको
रुपन्देही, फागुन १०
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देही क्षेत्र नं. १ अन्तर्गत तिलोत्तमा–१२, नौ नम्बर चोक तथा देवदह–८, शान्तिनगरमा चुनावी प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन गरेको छ ।कार्यालयको उद्घाटन जसपा नेपालका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सावित्रा बिक, रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार मोहम्मद असलम खान र समानुपातिक उम्मेदवार बिजया खत्रीले संयुक्त रूपमा रिवन काटेर गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सावित्रा बिकले निर्वाचनअघि स्थानीयवासीसँग प्रत्यक्ष संवाद र समन्वय बढाउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “जनतासँगको नजिकको सम्पर्कले हाम्रो कार्यक्रम प्रभावकारी बनाउनेछ र नागरिकको आवाज संसदसम्म पुग्नेछ। यस कार्यालयले क्षेत्रीय जनता र पार्टीबीचको दूरी कम गर्नेछ।”बिकले आगामी निर्वाचनमा जसपाका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै जसपा रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियारले संगठन विस्तारसँगै जनआधार सुदृढ गर्न कार्यालय प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाले सामाजिक न्याय, समावेशी विकास र नागरिक अधिकारको संरक्षणका लागि आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै मतदातासँग अनुरोध गर्नु भएको छ ।

त्यस्तै, समानुपातिक उम्मेदवार बिजया खत्रीले महिला, युवा र सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
उद्घाटन कार्यक्रममा क्षेत्रीय नेताहरू, पार्टी कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचनअघि कार्यालयले जनप्रतिनिधि र मतदाताबीचको प्रत्यक्ष संवाद प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए।
विशेषगरी तिलोत्तमा–१२ र देवदह–८ का स्थानीयवासीहरूले कार्यालय स्थापना भएपछि आफ्ना दैनिक समस्या र आवश्यकताहरू पार्टीसम्म सहज रूपमा पु¥याउन सकिने अपेक्षा व्यक्त गरेका छन्। पार्टीले यस कार्यालयमार्फत मतदाता पहुँच विस्तार र जनसम्पर्क सुदृढ गर्ने योजना अघि सारेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-२२ , समय : ११:०४:२० , ३ घन्टा अगाडि