रुपन्देही खबर , १६६ पटक हेरिएको
भैरहवा, फागुन ११
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी जसपा नेपालका उम्मेदवार मोहम्मद असलम खानको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गरिएको छ । घरदैलो अभियानलाई तीव्र बनाउँदै उहाले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनु भएको छ ।
फागुन ४ गतेदेखि सुरु गरिएको घरदैलो अभियानमार्फत खान क्षेत्र नम्बर १ का सबै घरधुरीमा पुग्न थालिसकेका छन भने करिब ५० हजार भन्दा बढी मतदातासँग प्रत्यक्ष भेटघाट गरिसक्नु भएको छ । अभियानका क्रममा स्थानीय बासिन्दासँग विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र दैनिक जीवनसँग जोडिएका समस्या तथा समाधानबारे छलफल भइरहेको उहाको टोलीले जनाएको छ ।

घरदैलोका क्रममा देखिएको उत्साहजनक सहभागिताले आफूलाई थप ऊर्जा मिलेको खानको भनाइ छ । धेरै मतदाताले उहालाई युवा, अनुभवी र स्थानीय मुद्दा बुझेको उम्मेदवारका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
स्थानीय बिजय यादवले भन्नु भयो “पहिले अरूलाई समर्थन गरेका थियौं, तर यसपटक खानलाई साथ दिने निर्णय गरेका छौं । उहाँमा स्थानीय नेतृत्वको क्षमता देखेका छौं।”
विशेषगरी यस क्षेत्रका मतदाताहरू कृषकका माग सम्बोधन,रोजगारी सिर्जना, उद्योग पुनरुत्थान, महँगी नियन्त्रण र युवा पलायन रोक्न सक्ने स्पष्ट योजना भएको नेतृत्व खोजिरहेका छन् । खानले भेटघाटका क्रममा भ्रष्टाचार नियन्त्रण, किसानका अधिकार र माग सम्बोधन, औद्योगिक पुनर्जागरण, साना तथा मझौला उद्यम प्रवद्र्धन, सीप विकास कार्यक्रम र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै खानले भन्नु भयो , “हामीलाई अभूतपूर्व समर्थन प्राप्त भइरहेको छ । जनताको चाहना र हाम्रो विकास दृष्टि मिल्दोजुल्दो भएकाले विश्वास बढ्दै गएको हो। यो समर्थनलाई परिणाममा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ।”
घरदैलो अभियानलाई अझै सघन बनाउँदै सबै वडामा पुग्ने तयारी भइरहेको उहाको निर्वाचन परिचालन समितिले जनाएको छ । बढ्दो जनसमर्थनसँगै रुपन्देही–१ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।
प्रकाशित मिति: २०२६-०२-२३ , समय : १०:२८:३३ , १८ घन्टा अगाडि