गुमेको साख फर्काउन पनि एक जुट भएर अघि बढ्न कांग्रेस नेता कँडेलको आव्हान

रुपन्देही खबर , ९२  पटक हेरिएको

नवलपरासी,फागुन ११

नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीले गुमाएको साख पुनःस्थापित गर्न सबै नेता कार्यकर्ता एक भएर चुनावी अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रमममा आज रामग्राम नगरपालिकामा भएको घरदैलो अभियानलाई परासी सदरमुकाममा सम्बोधन गर्दै नेता कँडेलले कांग्रेसको पराजयपछि यस क्षेत्रको विकासले गति लिन नसकेको दाबी गर्नुभयो । यस क्षेत्रबाट कांग्रेसले २०५१, २०५६ र २०७४ मा विजयी हासिल गरेको थियो ।

क्षेत्रको समग्र विकास कांग्रेसबाट मात्रै सम्भव भएको उल्लेद गर्दै कँडेलले उम्मेदवारलाई विजयी गराउन तल्लो तहबाटै सक्रिय हुन कार्यकर्तालाई आव्हान गर्नुभयो । कँडेललाई पार्टी केन्द्रीय समितिले जिल्लाको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेदवारी दिएको छ । ‘ कांग्रेसले एक दिन न एक दिन उत्तराधिकारीका रुपमा कसैलाई अगाडी ल्याउनु नै थियो । त्यसैले अहिले आएका उम्मेदवारलाई जिताउन एकजुट भएर अघि बढ्नुुस् । ’ नेता कँडेलले भन्नुभयो । चुनाव प्रचारप्रसारका क्रममा आफूले गर्न सक्ने काम मात्र मतदातासमक्ष लैजान उम्मेदवारलाई सुझाव दिँदै कँडेलले यस क्षेत्रमा सञ्चालन भइरहेका केही योजना अधुरा रहेकाले ती पूरा गर्न पनि कांग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

पार्टी क्षेत्रीय समितिका अध्यक्ष माधव पाण्डेको अध्यक्षतामा सम्पन्न कोणसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, उम्मेदवार भीमबहादुर थापाले प्रचारप्रसारका क्रममा मतदाताहरुबीच देखिएको उत्साहले कांग्रेसको जित सुनिश्चित भएको दाबी गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : २०:३१:२१ , ८ घन्टा अगाडि