रुपन्देही खबर , ११४ पटक हेरिएको
मर्चवार, फागुन ११
चुनावी माहोल तातेको छ। गाउँ–गाउँमा उम्मेदवारहरूको चहलपहल बढ्दो छ। तर रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कन्हैया बनियाको चुनावी अभियान भने किसानका मुद्दा वरिपरि केन्द्रित देखिन्छ। रुपन्देही जिल्ला अन्तर्गत पर्ने मर्चवार क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिँदै बनियाले आफूलाई “किसानको आवाज” का रूपमा प्रस्तुत गरिरहनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनिया विकासका ठूला नाराभन्दा पहिले किसानको आधारभूत समस्या समाधान गर्नुपर्ने धारणा राख्नुहुन्छ।
मल, बीउ र बजार—किसानका तीन मुख्य पीडा
सोमबार कोटहीमाई गाउँपालिका–१ का विभिन्न बस्तीमा पुग्दा उहाँले किसानसँग प्रत्यक्ष संवाद गर्नुभयो। खेतबारीमा परिश्रम गरे पनि मल अभाव, गुणस्तरीय बीउबिजनको कमी, सिँचाइको समस्या र उत्पादनको उचित मूल्य नपाउने अवस्थाले किसान निराश भएको उहाँको भनाइ छ।

“विकासको कुरा धेरै भयो, अब किसानको अधिकार सुरक्षित गर्ने बेला आएको छ,” उहाँले एक घरदैलो कार्यक्रममा भन्नुभयो।
उहाँका अनुसार निर्वाचित भए समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। दीर्घकालीन सिँचाइ योजना सञ्चालन गरी वर्षेभरि खेती गर्न सकिने वातावरण बनाइने र कृषि उपजको बजार व्यवस्थापनमा राज्यको सक्रिय भूमिका सुनिश्चित गरिनेछ।
कृषि मात्र होइन, स्वास्थ्य र शिक्षा पनि प्राथमिकतामा
बनियाको चुनावी प्रतिबद्धता कृषि क्षेत्रमा मात्र सीमित छैन। पाँच वर्षभित्र प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने, मर्चवार क्षेत्रमा आइसियु सेवासहितको अस्पताल निर्माण गर्ने तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने योजना उहाँले अघि सार्नुभएको छ।
शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्यसहित प्राविधिक शिक्षामा जोड दिने र क्रमशः निःशुल्क शिक्षाको कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
धार्मिक पर्यटन र रोजगारीको सम्भावना
मर्चवारलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उहाँको अर्को योजना हो। स्थानीय सम्भावनाको पहिचान गरी पर्यटकीय पूर्वाधार विकास गरिने र त्यसबाट रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ।
मतदातासँग अपिल
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बनियाले मतदातासँग रास्वपाको पक्षमा मत दिन अपिल गर्नुभएको छ। “समृद्ध मर्चवार निर्माणका लागि नीति, निष्ठा र नयाँ सोच आवश्यक छ,” उहाँको भनाइ छ।
किसानका मुद्दालाई केन्द्रीय एजेन्डा बनाउँदै मैदानमा उत्रिएका बनियाको अभियानले मर्चवारको चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ—त्यो भने मतपरिणामले नै देखाउनेछ।
प्रकाशित मिति: २०२६-०२-२३ , समय : २१:३४:५९ , ७ घन्टा अगाडि