रुपन्देही–१ मा असलम खाँनको प्रतिबद्धता: शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको पूर्ण जिम्मेवारी

रुपन्देही खबर , १०२  पटक हेरिएको

भैरहवा,फागुन ११

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार असलम खाँनले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको अनियमितता, अन्यौलता तथा स्तरहीन अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

चुनावी प्रचार–प्रसारका क्रममा मतदातासँग भेटघाट गर्दै उम्मेदवार खाँनले सबैका लागि समान, विज्ञान तथा प्रविधिमैत्री, व्यावसायिक र गुणस्तरीय शिक्षाको सुनिश्चितता राज्यको दायित्व हुनुपर्ने बताउनुभयो। “शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रलाई निजी स्वार्थको विषय बनाइनु हुँदैन, यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ,” उहाँको भनाइ थियो।

उहाँले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सर्वसाधारण नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन विशेष पहल गर्ने उल्लेख गर्नुभयो। अति गरिब, विपन्न वर्ग, लोपोन्मुख, सीमान्तकृत, दलित तथा महिलाहरूका लागि छात्रवृत्ति, निःशुल्क शिक्षा, प्राविधिक तालिम तथा रोजगारीको व्यवस्था गर्न राज्यलाई बाध्य बनाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

उम्मेदवार खाँनका अनुसार शिक्षा र रोजगारीबीच समन्वय गरी उत्पादनमुखी र सीपमूलक कार्यक्रम लागू गरिनेछ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्न उद्यमशीलता प्रवर्द्धन, सीप विकास तालिम तथा स्थानीय स्रोत–साधनमा आधारित रोजगारी कार्यक्रम अघि सारिने उहाँको योजना छ।

जसपा नेपालले अघि सारेको ‘पहिचानसहितको संघीयता, समावेशी शासन र सामाजिक न्याय’ को मूल मर्मअनुसार नै शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अवसर सुनिश्चित गर्ने अभियानलाई प्राथमिकतामा राखिएको उम्मेदवार खाँनले स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : २२:०८:५८ , ६ घन्टा अगाडि