रुपन्देही खबर , १०५ पटक हेरिएको
भैरहवा, फागुन १२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार क्याप्टेन गौरव बोहराले भैरहवाका विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने आफ्नो पहिलो योजना रहेको बताउनुभएको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बोहराले सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

घरदैलोका क्रममा टाटी(खर र बाँसले बनाइएको घर) घरमा बसोबास गरिरहेका विपन्न परिवारको अवस्था अवलोकन गर्दै बोहराले घामपानीबाट समेत जोगिन नसक्ने अवस्थाले आफूलाई भावुक बनाएको बताउनुभयो। “सामान्य मानिसको पनि आफ्नै सुरक्षित घर बनाउने सपना हुन्छ। तर यहाँका धेरै दाजुभाइ दिदीबहिनीहरू घाम र पानी छल्नै मुस्किल पर्ने कच्ची घरमा बस्न बाध्य हुनुहुन्छ,” उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण उचित बसोबासको व्यवस्था गर्न नसकेका विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण मेरो पहिलो प्रतिबद्धता हो।”

उहाँले लालपुर्जा बिहीन नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्न पहल गर्ने समेत जनाउनुभयो।बोहराले आवास योजनासँगै सबै नागरिकका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन गर्ने, यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्ने र नगर क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि अघि सार्नुभएको छ। उहाँका अनुसार यी कार्यक्रमहरू कार्यान्वयनका लागि स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा समन्वयात्मक पहल गरिनेछ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : २१:२३:३६ , ३ घन्टा अगाडि