आन्दोलनको अनुभव र विकासको प्रतिवद्धता बोकेर घरदैलोमा महेन्द्र यादव

रुपन्देही–३ मा स्वतन्त्र उम्मेदवारको सक्रियता, पूर्वाधारदेखि सुशासनसम्मका एजेन्डा अघि सार्दै

उर्मिला यादव यात्री , १५३  पटक हेरिएको

भैरहवा, फागुन १३

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ को चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । गाउँ–टोलमा राजनीतिक छलफल चुलिएको छ भने उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्ना योजना र प्रतिवद्धता सुनाइरहेका छन् । यही क्रममा स्वतन्त्र उम्मेदवार महेन्द्र यादव यतिबेला तीव्र घरदैलो अभियानमा जुट्नुभएको छ ।

आफूलाई आन्दोलनबाट स्थापित नेता बताउने यादव २०६३ सालदेखि मधेश आन्दोलनमा सक्रिय रहेको स्मरण गराउनुहुन्छ । अधिकार प्राप्तिका लागि सडक संघर्ष गरेको अनुभव सुनाउँदै अब विकास र सुशासनका एजेन्डा कार्यान्वयन गर्न संसद् पुग्ने लक्ष्य रहेको उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवारी दिए पनि जनताको सेवाबाट कहिल्यै पछि नहट्ने उहाँले दोहोर्‍याउनु भएको छ ।

बुधबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का विभिन्न गाउँबस्तीमा पुग्दा स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानी, नाला तथा सडकको दयनीय अवस्थाबारे गुनासो गरेका थिए । कतिपय बस्तीमा आधारभूत सेवा अझै व्यवस्थित नभएको भन्दै जनताले दीर्घकालीन समाधानको माग राखेका छन् ।

घरदैलोका क्रममा यादवले समस्या टिपोट गर्दै आफू निर्वाचित भए ती सबै गुनासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनताको विश्वास नै मेरो शक्ति हो । विकासका अधुरा काम पूरा गर्न स्पष्ट योजना बनाएर अघि बढ्छु,” उहाँले भन्नुभयो ।

यादवको चुनावी एजेन्डामा गुणस्तरीय शिक्षा, विद्यालयमा आधारभूत पूर्वाधार सुधार, विद्यार्थीको नियमित स्वास्थ्य जाँच, कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि र बजार व्यवस्थापन, उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, युवा तथा खेलकुद विकास, सामाजिक सुरक्षा तथा विपन्न वर्ग संरक्षणका कार्यक्रम समेटिएका छन् ।

त्यसैगरी सडक, पुल, खानेपानी, विद्युत विस्तारजस्ता आधारभूत संरचनालाई प्राथमिकतामा राख्दै स्थानीय तह सुदृढीकरण, पारदर्शी प्रशासन र सूचना प्रविधिमैत्री सेवा प्रणाली विकास गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ ।

चुनावी माहोलसँगै विकासका ठोस एजेन्डा अघि सार्दै यादवले आफू विजयी भए रुपन्देही–३ लाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको दोहोर्‍याउनुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-२५ , समय : २०:३१:१५ , ५ घन्टा अगाडि