रुपन्देही खबर , ८१ पटक हेरिएको
भैरहवा, फागुन १३
चुनावी सरगर्मी बढेसँगै रुपन्देही–१ मा राजनीतिक बहस चर्किएको छ। चोक–चौतारी, घरदैलो र साना भेलाहरूमा अहिले एउटै प्रश्न उठिरहेको छ—अबको नेतृत्व कस्तो हुनुपर्छ ? यही बहसको केन्द्रमा छन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)।

तीन वर्षअघि स्वर्गीय बुवा दीपक बोहरा को चुनावी अभियानमा सक्रिय सहभागी हुँदै राजनीतिक यात्राको सुरुआत गरेका प्रज्जवलका लागि यो उम्मेदवारी केवल प्रतिस्पर्धा होइन, जिम्मेवारीको निरन्तरता पनि हो ।बुवाले सुरु गरेका सडक, सिँचाइ र खानेपानीजस्ता आधारभूत पूर्वाधारका योजनाले धेरै गाउँमा विकासको आधार तयार पार्नू भएको थियो । स्वास्थ्य समस्याका कारण जनतामाझ पुग्न नसक्दा प्रज्जवलले नै नागरिकका गुनासा सुन्ने र समन्वय गर्ने भूमिका निर्वाह गर्नु भएको थियो । त्यही अनुभवले उहालाई स्थानीय समस्या र अपेक्षासँग नजिक बनाएको छ ।


राप्रपाले १८ वर्षपछि रुपन्देही–१ मा फेरि बोहरालाई उम्मेदवार बनाएको छ । तर प्रज्जवलको भनाइमा यो केवल पारिवारिक विरासत होइन, जनताको अपेक्षा पूरा गर्ने अवसर हो । लामो समय अमेरिका बसाइपछि स्वदेश फर्किनु भएको उहाले विकासलाई प्रविधिसँग जोड्ने स्पष्ट दृष्टि प्रस्तुत गर्नु भएको छ । सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली लागू गरी भ्रष्टाचार न्यूनीकरण गर्ने, ठेक्का र बजेट प्रक्रियामा पारदर्शिता ल्याउने तथा हरेक वर्ष जनतासामु प्रगति प्रतिवेदन पेश गर्ने उहाको प्रतिबद्धता छ । “जनताले प्रश्न सोध्ने, म जवाफ दिने संस्कार बसाल्न चाहन्छु,” उहा भन्नु हुन्छ ।
रोजगारी सिर्जना उहाको प्राथमिक एजेन्डा हो। युवालाई स्वदेशमै अवसर दिलाउन स्थानीय उद्योग प्रवद्र्धन, सीपमूलक तालिम र उद्यमशीलता विकासमा जोड दिने योजना उहाले अघि सार्नु भएको छ । अव्यवस्थित र भूमिविहीन नागरिकका लागि भूमि व्यवस्थापन, सुरक्षित र सम्मानजनक वैदेशिक रोजगारी नीति तथा देशमै पूँजी भित्र्याउने रणनीति पनि उहाको कार्ययोजनामा समेटिएको छ ।

शिक्षा क्षेत्रमा सुधारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय को गुरुयोजना पूर्णता दिने र राजनीतिक प्रभावबाट मुक्त बनाउने उहाले बताउनु भएको छ । सरकारी विद्यालयको भौतिक संरचना सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिने तथा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय लाई क्याम्पसमा स्तरोन्नति गर्ने योजना पनि उहाको एजेन्डामा छ । सीप, प्रविधि र व्यवहारिक शिक्षामार्फत शिक्षालाई रोजगारमुखी बनाउने उहाको लक्ष्य छ ।
स्वास्थ्य क्षेत्रमा गाउँ–नगरमै विशेषज्ञ सेवा उपलब्ध गराउने, एम्बुलेन्स र दमकल व्यवस्थापन सुदृढ गर्ने तथा धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने प्रतिबद्धता उहाले व्यक्त गर्नु भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पनि उहाको योजना छ।
कृषि र खाद्य सुरक्षालाई आत्मनिर्भरतासँग जोड्दै किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिँचाइ र भण्डारणको व्यवस्था तथा आधुनिक कृषि प्रविधि प्रयोगमार्फत स्वदेशी उत्पादन वृद्धि गर्ने उहाले बताउनु भएको छ । आयातमा निर्भरता घटाउँदै स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उहाको दृष्टि छ ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै घरदैलो अभियानमा व्यस्त प्रज्जवल बोहरा विकास, सुशासन र पारदर्शिताको सन्देश लिएर मतदातामाझ पुग्नु भएको छ । रुपन्देही–१ मा अबको निर्णय मतदाताको हातमा छ—नयाँ सोच र ऊर्जा रोज्ने कि पुरानै अभ्यास दोहो¥याउने।
प्रकाशित मिति: २०२६-०२-२५ , समय : २०:५७:२६ , ५ घन्टा अगाडि