रुपन्देही खबर , ५९ पटक हेरिएको
कञ्चन,फागुन १३
यही फागुन २१ हुने निर्वाचनको समय नजिकिदै जाँदा नेपाल मजदुर किसान पार्टीले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ। नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति रुपन्देहीले रुपन्देहीको ५ वटै क्षेत्रमा पार्टीको घोषणा पत्र सहित चुनावी प्रचार अभियानलाई तिव्रता दिएको हो।
रुपन्देही क्षेत्र नं. ५ का उमेद्वार जगीलाल थापाले क्षेत्र नं. ५ का विभिन्न स्थानहरुमा चुनावी प्रचार अभियान अन्तर्गत मतदाताहरुको घरदैलोमा पुगेर चुनाव चिन्ह मादलमा मत मागेका छन।
मतदाताहरुको घरदैलो भेटको क्रममा उमेद्वार थापाले निर्वाचित जनप्रतिनीधिहरु आ आफ्नै जिल्लामा बसेर जनताको सेवा र देशको बिकास गर्नु पर्ने कानुनी ब्यबस्थालाई अक्षरसः पालना गराउन, सुशासन र भ्रष्टचार नियन्त्रणका लागि विश्व विद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रार र संवैधानिक आयोगका पदाधिकारी एवम् मुख्य मुख्य कर्मचारीहरुको नियुक्ती सम्बन्धित कर्मचारीहरुबाट हुनुपर्ने कानुनी व्यबस्था गर्न चुनाव चिन्ह मादलमा मतदान गरी नेमकिपाका उमेद्वारहरुलाई विजयी बनाउन आग्रह गर्नु भएको छ ।
मादल चिन्हमा मतदान गर्नु भनेको जनताको सरकार बनाउनु हो भन्दै उमेद्वार थापाले मादल चिन्हमा मतदान गरी देश र जनताको पक्षमा निःस्वार्थ सेवा गरी समाजवदाी प्रचार अभियानलाई अगाडी बढाउन सहयोग गर्न समेत आग्रह गर्नु भएको छ। घरदैलो भेट कार्यक्रममा मतदाताहरुले नेमकिपा निस्कलंक पार्टी भएको नेमकिपाका उमेद्वारलाई मत दिएपनि खेर गएको कुनै अनुभूति नहुने बरु गर्वान्वित बनाउने भन्दै नेमकिपाले जित्नु भनेको जनताका असल र सच्चा प्रतिपक्षी दलले जित्नु भएको कुरा बताएका थिए।
उमेद्वार थापाले निर्वाचन आयोगको निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै प्रतिनीधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनको फरकबारे समेत जानकारी दिदै चुनावमा कुनै अलमल नपरी सबै दलका घोषणा पत्रको अध्ययन गरी जुन दलको कुरा आफुलाई मन पर्छ त्यही दलको चुनाव चिन्हमा मतदान गर्नु पर्ने कुरा समेत मतदाताहरुलाई बताउनु भएको छ ।
चुनाव पनि एक विश्व विद्यालय सरह भएको हुँदा चुनावको समयमा सबै दलको घोषणा पत्रको अध्ययनले कुन दल जनताको र कुन दल जनता विरोधी भन्ने कुरा जान्न र बुझ्न पाइने उल्लेख गर्दै स्थानीय निकायलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा बिकास गर्न, विश्व विद्यालयहरुले समाजलाई बुद्धिजिवीकरण गर्ने अभियानको अगुवाई गर्ने नीति बनाउन, योग्यता र सिप अनुसार काम, काम अनुसार ज्यालाको बन्दोबस्त गर्न नेमकिपाका चुनाव चिन्ह मादलमा मतदान गर्न नेमकिपाका उमेद्वार थापाले आग्रह गर्नु भएको थियो।
उमेद्वार थापाले कञ्चनको झारगैरा, बुद्धचोक, मलावरदेवी, गैडहवाको मोडवा बजार, नलौली, लोण्डिहवा, जोगडा बजार, लालपुर मगरपुर लगायत क्षेत्रमा मतदाताहरुको घरदैलोमा पुगेर मतदान माग्नु भएको छ ।
यस्तै सैनामैनाको देउवापार, रामापुर, सालझण्डी, जर्लैया, राजापनी, बेलडाडामा समेत घरदैलो गर्दै गरी नेपाल मजदुर किसान पार्टी र उमेद्वारहरुलाई मादल चिन्हमा मतदानगरी विजयी बनाउन उमेद्वार थापाले आग्रह गर्नु भएको छ। घरदैलोको क्रममा नेमकिपालाई मत दिएपछि के हुन्छ भनेर मतदाताहरुले सोधेको जिज्ञासामा यदि नेमकिपालाई मत दिएमा वा नेमकिपाका उमेद्वारहरुले विजयी भएमा व्यक्तितव बिकासमा समान अवसरको बन्दोबस्त, शिक्षा निःशुल्क र अनिवार्य तथा स्वास्थ्य सेवा निःशुल्क, जमिन जोत्नेको सिद्धान्त क्रान्तिकारी भूमिसुधार लागु गर्ने, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने, भ्रष्टचारी र घुस्याहा कर्मचारी, दलका नेताहरुलाई मृत्युदण्डको सजायको बन्दोबस्त, कामदार जनताहरुको प्रतिनीधि सम्मिलित जनताको सरकार निर्माण गरी देश र जनताको निःस्वार्थ सेवा गर्ने लगायत उमेद्वार थापाले प्रतिवद्धता जनाउनु भयो ।
उमेद्वार थापाले कञ्चनको कुत्ता गाउँ, गजेडी बजार, कुचेरा, सुन्दरनगर, बनकयिा तथा पुर्तिघाट बजारमा पुगेर मतदाताहरुको घरमा घरदैलो गरी मत मागेका थिए। यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उमेद्वार रोशिना व्याञ्जुले आफ्नो क्षेत्र अन्तर्गत, मुर्गिया, बनकट्टा, बुटवल पुरानो बजार, लगायत क्षेत्रमा चुनावी प्रचार गर्नु भएको छ । यसैगरी क्षेत्र नं. ३ का उमेद्वार सुग्रिम चाईँले आफ्नो क्षेत्र अन्तर्गत भैरहवा बजार क्षेत्रमा घरदैलो गरी चुनाव चिन्ह मादलमा मत माग्नु भएको छ ।
यस्तै नेमकिपाको तर्फबाट क्षेत्र नं. ४ का उमेद्वार कमल कोजुले पनि आफ्नो मतदाताहरुको घर घरमा पुगि देश र जनताको निःस्वार्थ सेवा गर्ने असल र इमान्दार पार्टी नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा मत मागेका छन। मतदाताहरुको घरमा घरदैलो गर्नेक्रममा विगतमा जस्तै यस पटकको चुनावमा पनि पैसा र सामान बांडेर, भोज खुवाएर, झुटा आश्वासन बाँडेर जनताको मत लिन खोज्ने शासक दल तथा पुँजीवादी दल र तिनका नेताहरुलाई परास्त गर्न मादल चिन्हमा मत दिन आग्रह गर्नु भएको छ ।
खेलकुद मार्फत युवाहरुलाई देश र जनताप्रति उत्तरदायी बनाउदै देश विकासको साझेदार बनाउनमा उत्प्रेरित गर्न, नेपाली जनतालाई कूल २८ खर्व रुपैयाभन्दा बढी ऋण बोकाउने र १५ खर्व रुपैयाभन्दा बढी वार्षिक व्यापारघाटामा पुर्याउने शासक दल र तिनका सांसद तथा मन्त्रीहरुलाई जनताको कठघरामा उभ्याउन मादलको चिन्हमा मतदान गर्न आग्रह गर्दै उमेद्वार कोजुले देशको राष्ट्रिय उद्योग तथा कलकारखाना र सार्वजनिक संस्थानहरु निजीकरणको नाममा विदेशी पुँजीलाई बेच्ने शासक दलहरु नङग्याउन र तिनका नेताहरुलाई फाँसीको सजायमा दिने नियम बनाउन नेमकिपालाई निर्वाचनमा जिताउनु पर्ने बताउनु भएको थियो ।
प्रकाशित मिति: २०२६-०२-२५ , समय : २२:१७:५० , ४ घन्टा अगाडि