पर्यटन र पूर्वाधार विकासको एजेन्डासहित गौरव बोहरा घरदैलो अभियानमा सक्रिय

रुपन्देही खबर , ९०  पटक हेरिएको

भैरहवा,फागुन १४

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुपन्देही–३ को चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। गाउँ–टोलमा राजनीतिक छलफल चुलिएको छ भने उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्ना योजना र प्रतिबद्धता सुनाइरहेका छन्।,

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–३ का उम्मेदवार क्याप्टेन गौरव बोहराले घरदैलो अभियान तीव्र बनाउनु भएको छ । उहाले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटन, पूर्वाधार, उद्योग र युवाको स्वरोजगारमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

बोहराका अनुसार पहिलो चरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने पहल गरिनेछ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भएपछि पर्यटक आगमन र व्यापारिक सम्भावनाहरू खुल्ने उहाको विश्वास छ। साथै, विमानस्थलको दोस्रो टर्मिनल भवन समयमै निर्माण र विमानस्थलसँग जोडिने सडक सञ्जालको विकास प्राथमिकतामा रहनेछ।

भैरहवास्थित बेलहिया नाकाको भन्सार कार्यालयको संरचनात्मक सुधार गरिने, उद्योगीहरूको माग अनुसार आईसीपीसम्म रेल–वे मार्ग ल्याउने र विशेष आर्थिक क्षेत्र (सेज) उद्योगमैत्री बनाउने योजना बोहराले सार्वजनिक गर्नु भएको छ ।

भैरहवाको डण्डा खोलालाई पर्यटकीय करिडोरका रूपमा विकास गरिनेछ। युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्नेछु।” होटल तथा पर्यटन क्षेत्रमा निजी लगानी बढाउन सरकारसँग सहकार्य गरिने उहाको प्रतिवद्धता रहेको छ।

बोहराले मतदातालाई फागुन २१ मा मतदान गरी रुपन्देही–३ मा पर्यटन, पूर्वाधार र युवाको भविष्य सुनिश्चित गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : ०४:१०:५४ , ४ घन्टा अगाडि