जनताको आँगनमै उपचार र विकासको खाका : डा. लेखजंग थापाको फरक चुनावी यात्रा

रुपन्देही खबर , ८३  पटक हेरिएको

भैरहवा, फागुन १४

चुनावी मौसममा उम्मेदवारहरू भाषण, नाराबाजी र आश्वासनमा व्यस्त देखिनु सामान्य हो । तर रुपन्देही–३ मा भने घरदैलो अभियानको दृश्य केही फरक देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा हातमा मतपत्रको अपिल मात्रै होइन, झोलाभित्र ‘लग बुक’ बोकेर जनताको आँगनमा पुगिरहनु भएको छ ।

चिकित्सक पृष्ठभूमिका थापा मत माग्न जाँदा गाउँघरका स्वास्थ्य समस्या बोकेका नागरिकहरू स्वतः उहा तर्फ तानिन्छन् । कोही दीर्घरोगको उपचार नपाएको पीडा सुनाउँछ, कोही औषधिको अभाव, त कोही आर्थिक समस्याले उपचार रोकिएको गुनासो गर्छ । समर्थकहरूले समयको संकेत गर्दा पनि थापा बिरामीका कुरा ध्यानपूर्वक सुन्नु हुन्छ । र सकेसम्म स्वास्थ्य परामर्श दिनुहुन्छ ।

घरदैलोका क्रममा उहा कहाँ स्वास्थ्य मात्रै होइन, जग्गाधनी पूर्जा, शिक्षा, रोजगारी र पूर्वाधार अभावका गुनासा पनि आउने गरेका छन ।
अघिल्ला चुनावमा आफ्ना पीडा सुनाउँदा–सुनाउँदै निराश बनेका कतिपय मतदाता यसपटक भने ध्यान दिएर सुन्ने उम्मेदवार पाएको अनुभव सुनाउँछन् । नागरिकका कथा सुन्दा थापा भावुक हुने गर्नु भएको छ । केही स्थानमा मतदाताका दुःखले उहालाई आँसु झार्न बाध्य पारेको स्थानीय बताउँछन् ।

थापाले यसपटकको चुनावलाई “समाज बुझ्ने पाठशाला”का रूपमा लिनु भएको छ । वर्षौंदेखि क्लिनिकमा बसेर बिरामी जाँच्दै आएका उहाले अहिले ग्रामीण समाजको संरचना, त्यहाँका आधारभूत समस्या र सम्भावनाबारे नजिकबाट बुझिरहनु भएको छ । “पहिले जनता बुझ्नुप¥यो, त्यसपछि मात्रै संसदमा उनीहरूका समस्याबारे प्रभावकारी आवाज उठाउन सकिन्छ,” उहा भन्नु हुन्छ ।

उहाको झोलामा सधैं रहने ‘लग बुक’मा प्रत्येक वडाका समस्या टिपोट गरिन्छन् । सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकताका साथ वर्गीकरण गर्दै उहाले सन्तुलित विकासको प्रारम्भिक खाका तयार पारेका छन् । पहिलो पटक उम्मेदवार बने पनि मतदाता सुन्ने र जवाफ दिने शैलीले उहालाई फरक पहिचान दिएको छ ।

उहाको विकास दृष्टिकोणको केन्द्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ । विमानस्थल बने पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित आर्थिक गतिविधि हुन नसकेको उहाको बुझाइ छ । यदि विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भयो भने पर्यटन, व्यापार, होटल व्यवसाय र रोजगारीका अवसर विस्तार हुने र रुपन्देही–३ देशकै प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास हुन सक्ने उहाको तर्क छ ।

घरदैलो अभियानमा कहिले चिकित्सकजस्तै सल्लाहकार, कहिले छिमेकीजस्तै सहानुभूतिपूर्ण साथी र कहिले सम्भावित नीतिनिर्माताजस्तै गम्भीर रूपमा प्रस्तुत हुने थापाको शैलीले यसपटकको चुनावमा नयाँ बहस जन्माएको छ । मत परिणाम जे आए पनि, उहाले चुनावी अभियानलाई केवल मत माग्ने औपचारिकतामा सीमित नराखी जनताको मन छुने यात्रामा रूपान्तरण गरेको चर्चा यतिबेला रुपन्देही–३ मा व्यापक छ ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : ०५:३२:२७ , ३ घन्टा अगाडि