रुपन्देही–५ मा चुनावी माहोल तात्दै: ओमप्रकाश यादव घरदैलोमा

जनताले उठाएका हरेक विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता

रुपन्देही खबर , ७६  पटक हेरिएको

लुम्बिनी, फागुन १४

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुपन्देही–५ को चुनावी गतिविधि तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, भेटघाट र छलफलमार्फत मतदाता आकर्षित गर्न सक्रिय छन्।

यसैबीच जनमत पार्टीका उम्मेदवार ओमप्रकाश यादवले आफ्नो अभियान तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ। यादवले विगतमा दलले खेलेको भूमिका र आगामी योजनाका बारेमा जनतालाई जानकारी दिँदै विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ।

उहाँले जनताको गुनासा नजिकबाट सुन्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “जनताले उठाएका हरेक विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नेछु।” यादवले पिछडिएका समुदाय, कन्या विद्यालय, र स्थानीय विकासका मुद्दालाई आफ्नो चुनावी एजेन्डामा पहिलो प्राथमिकताका रूपमा राख्नुभएको छ।

यादवको योजना अनुसार, बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक र पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुका साथै शान्ति–सुरक्षा सुनिश्चित गरिनेछ। साथै मधेशी, मुस्लिम र दलित समुदायको जीवनस्तर सुधार, कृषकलाई मल र बिउ समयमै उपलब्ध गराउने, सिंचाइ सुविधा विस्तार, स्तरीय अस्पताल र प्राविधिक शिक्षा प्रवर्द्धन गर्नु उहाँका मुख्य उद्देश्य हुन्।

ओमप्रकाश यादवले मतदातासँग प्रत्यक्ष संवादमार्फत आफ्नो योजनाको कार्यान्वयनमा विश्वास दिलाइरहनु भएको छ भने मतदाताबाट सकरात्मक प्रतिक्रिया भेटिएको जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२६-०२-२७ , समय : ००:४६:५३ , २ घन्टा अगाडि