रुपन्देही खबर , ७६ पटक हेरिएको
भैरहवा, फागुन १५
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नवलपरासी–२ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । गाउँ–टोलमा उम्मेदवारहरूको बाक्लो उपस्थितिसँगै विकासका मुद्दामा बहस चुलिएको छ । यही क्रममा जनता समाजवादी पार्टी नेपाल का नवलपरासी क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र यादवले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातामाझ आफ्ना योजना र प्रतिबद्धता राखिरहनुभएको छ ।

बिहीबार उहाँ रामग्राम नगरपालिका का विभिन्न गाउँबस्तीमा पुग्नुभयो । स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, नाला तथा सडक पूर्वाधारको कमजोर अवस्थाबारे गुनासो सुन्नुभयो । ग्रामीण क्षेत्रमा अझै आधारभूत सेवा प्रभावकारी रूपमा नपुगेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए । यादवले आफू निर्वाचित भए ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

घरदैलो क्रममा पुराना नेताले काम नगरेको र भ्रष्टाचार नियन्त्रणको माग व्यापक रूपमा उठेको उहाँको भनाइ छ । “सुशासन बिना विकास सम्भव छैन,” भन्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गर्नुभयो । जनताले इमानदार र जवाफदेही नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले कामबाटै विश्वास जित्ने अठोट दोहोर्याउनुभयो ।


कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै यादवले समयमै मलखाद र बिउबिजन उपलब्ध गराउने, उत्पादनको सुनिश्चित बजार व्यवस्था गर्ने तथा कृषिको आधुनिकीकरणमार्फत किसानको आम्दानी बढाउने योजना सुनाउनुभयो । किसानका मुख्य माग सम्बोधन गर्दै ‘नयाँ कृषि क्रान्ति’ सुरु गर्ने उहाँको प्रतिबद्धता छ ।

त्यस्तै, स्वदेशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यता घटाउने लक्ष्यसहित स्थानीय उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।

चुनावी सरगर्मीसँगै विकासका ठोस एजेन्डा प्रस्तुत गर्दै यादवले नवलपरासी–२ लाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न सहरका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउनुभएको छ । जनसहभागिता र उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले फागुन २१ मा परिवर्तनका पक्षमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-२७ , समय : १०:२६:१५ , ५ घन्टा अगाडि