रुपन्देही खबर , ८५ पटक हेरिएको
भैरहवा, फागुन १५
निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–४ को गाउँ–टोल चुनावी संवादले भरिन थालेका छन् । मतदाताको ढोका–ढोकामा पुगेर आफ्ना उपलब्धि र आगामी योजना सुनाउँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल यतिबेला घरदैलो अभियानमा सक्रिय देखिनुभएको छ ।
स्थानीयसँगको भेटघाटमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र नालाजस्ता आधारभूत पूर्वाधारका समस्या प्रमुख रूपमा उठेका छन् । ग्रामीण भेगमा अझै सेवा प्रवाह प्रभावकारी हुन नसकेको गुनासो सुन्दै शुक्लले निर्वाचित भए तत्काल समाधानको प्राथमिकता तय गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आफ्नो अघिल्लो कार्यकाललाई स्मरण गर्दै उहाँले मर्चवार क्षेत्रमा सिँचाइ, विद्युतीकरण र सडक सञ्जाल विस्तारमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । खडवा बाँध निर्माणदेखि डिप ट्युबेल जडानसम्मका योजनाले किसानलाई राहत पुगेको उहाँको भनाइ छ । त्यसैगरी, ग्राभेल सडक निर्माणबाट सुरु भएको पूर्वाधार विकास अहिले कालोपत्रेसम्म पुगेको उल्लेख गर्नुभयो ।
प्रशासनिक सेवा स्थानीयस्तरमै उपलब्ध गराउने पहललाई पनि उहाँले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । मालपोत, नापी तथा विद्युत् प्राधिकरणका कार्यालय मर्चवारमै स्थापना भएपछि सर्वसाधारणले भैरहवा वा बुटवल धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँको दाबी छ । शिक्षातर्फ मझागाउँमा क्याम्पस स्थापना गरी उच्च शिक्षाको पहुँच गाउँमै विस्तार गरिएको बताउनुभयो ।
अबको लक्ष्य भने अझ महत्वाकांक्षी रहेको उहाँले स्पष्ट पार्नुभयो—२०८४ भित्र सुविधासम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको र निर्धारित समयमै संरचना तयार गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो ।
घरदैलो क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग व्यापक रूपमा उठेको उल्लेख गर्दै उहाँले शून्य सहनशीलताको नीति अपनाउने बताउनुभयो । “विश्वास कामबाटै जितिन्छ,” भन्दै उहाँले इमानदार नेतृत्वको आवश्यकता औँल्याउनुभयो ।
चुनावी माहोल तातेका बेला शुक्लले विकासका अघिल्ला उपलब्धि र भावी योजनालाई आधार बनाएर मतदातासँग समर्थन मागिरहनुभएको छ । उहाँको दाबी छ—जनताको साथ पाए मर्चवारलाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न क्षेत्रका रूपमा स्थापित गरिनेछ ।
प्रकाशित मिति: २०२६-०२-२७ , समय : ११:१२:०२ , ४ घन्टा अगाडि