रुपन्देही खबर , ११८ पटक हेरिएको
भैरहवा, फागुन १६
रुपन्देही क्षेत्र नम्बर ४ यतिबेला चुनावी बहस र दाबी–प्रतिदाबीले तातिएको छ । गाउँदेखि बजारसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा चलिरहँदा जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादव आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिनुभएको छ ।
यादवको दाबी छ—यसपटकको प्रतिस्पर्धा जनमत र नेपाली काँग्रेसबीच नै केन्द्रित हुनेछ । “अरू दलहरू चुनावी दौडमै देखिएका छैनन्, मुख्य टक्कर काँग्रेससँगै हो,” उहाँले पत्रकारहरूसँगको कुराकानीमा स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार फागुन २१ गते हुने निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दलहरूको प्रभाव क्षेत्र नम्बर ४ मा उल्लेख्य देखिएको छैन ।
आफूलाई किसानको ‘नेता’ भन्दा किसानकै ‘छोरा’का रूपमा चिनाउन रुचाउने यादव जनताको दैनिकीसँग जोडिएका मुद्दालाई चुनावी एजेन्डा बनाइरहनुभएको छ । किसान, मजदुर र विपन्न वर्गको जीवनस्तर उकास्ने प्रतिबद्धतासहित जनमत पार्टीले ‘गरिबमुखी सरकार’ निर्माण गर्ने लक्ष्य लिएको उहाँ बताउनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट झण्डै १६ हजार मत प्राप्त गरेको स्मरण गर्दै यादव यसपटक मतदाता थप उत्साहित देखिएको दाबी गर्नुहुन्छ । “जनता परिवर्तन चाहन्छन्, र त्यो परिवर्तनको भरोसा जनमतमा देखिएको छ,” उहाँको भनाइ छ ।
रुपन्देही–४ को चुनावी समीकरण कता मोडिन्छ भन्ने टुंगो लाग्न अझै केही दिन बाँकी छ, तर भोपेन्द्र यादवको दाबीले भने चुनावी माहोललाई थप रोचक बनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-२८ , समय : ११:२७:१० , १८ घन्टा अगाडि