रुपन्देही–१ मा असलम खानको प्रतिबद्धता:‘जिते प्राविधिक शिक्षालय स्थापना गर्छु’

रुपन्देही खबर , १५०  पटक हेरिएको

भैरहवा, फागुन १७

मोहम्मद असलम खानले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए रुपन्देही–१ मा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।जनता समाजवादी पार्टी (जसपा), नेपाल का तर्फबाट उम्मेदवार रहनुभएका खानले क्षेत्रका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। “रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सीपमूलक शिक्षा अनिवार्य छ,” उहाँले भन्नुभयो, “त्यसका लागि रुपन्देही–१ मा स्तरीय प्राविधिक शिक्षालय स्थापना मेरो पहिलो प्राथमिकता हुनेछ।”

घरदैलो तथा चुनावी भेटघाटका क्रममा खानले कृषि, साना उद्योग, सीप विकास तालिम र स्थानीय उत्पादन प्रवर्द्धनलाई समेटेर समग्र आर्थिक विकासको योजना अघि सारेका छन्। उहाँले मधेशी, मुस्लिम, दलित तथा पिछडिएका समुदायको शैक्षिक पहुँच अभिवृद्धि गर्न विशेष कार्यक्रम ल्याउने दाबी गर्नुभयो।

खानका अनुसार शिक्षासँगै स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ र युवा उद्यमशीलतामा लगानी बढाएर क्षेत्रको समग्र विकास सम्भव छ। “विकासको मूल आधार शिक्षा हो,” उहाँले थप्नुभयो, “त्यसैले जितेपछि वाचा अनुसार काम गरेर देखाउनेछु।”
रुपन्देही–१ मा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले विकास र रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन्। खानले आफ्नो एजेन्डा कार्यान्वयनका लागि मतदातासँग समर्थन माग्दै घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : ०८:३६:४२ , ३ दिन अगाडि