रुपन्देही खबर , १६० पटक हेरिएको
भैरहवा, फागुन १७
रुपन्देही–३ को चुनावी माहोल तात्दै जाँदा विकास र पर्यटन बहसको केन्द्रमा उभिएका छन् गौरव बोहरा । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार बोहराले भैरहवालाई अन्तर्राष्ट्रिय पर्यटन बजारका रूपमा ब्रान्डिङ गर्ने स्पष्ट योजना अघि सार्दै चुनावी अभियानलाई नारा होइन, दृष्टिकोणमा आधारित बनाउने प्रयास गरिरहनु भएको छ ।

शनिबार बुटवल उपमहानगरपालिकाका वडा १४ देखि १९ सम्मको घरदैलो कार्यक्रममा उहाले मतदातासँग खुलेर संवाद गर्नु भएको छ । “पद प्रतिष्ठाका लागि होइन, जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ,” भन्दै उहाले सेवाभावलाई आफ्नो मूल मन्त्रका रूपमा प्रस्तुत गर्नु भएको छ ।
पारिवारिक पृष्ठभूमिबारे बोल्दै उहाले स्वर्गीय दिपक बोहराको योगदानलाई सम्मान गर्दै आफूले विरासतको भरमा होइन, आफ्नै कर्म र अनुभवको आधारमा जनताको विश्वास मागिरहेको स्पष्ट पार्नु भएको छ । लामो पेशागत जीवनबाट सिकेको अनुशासन, निर्णय क्षमता र अन्तर्राष्ट्रिय अनुभवलाई अब जन्मभूमिको विकासमा लगाउने उहाको अठोट छ ।
भैरहवाको भौगोलिक अवस्थिति, सीमा नाकाको रणनीतिक महत्व, अन्तर्राष्ट्रिय हवाई पहुँच र धार्मिक–सांस्कृतिक सम्पदालाई एकीकृत गर्दै पर्यटन ‘हब’ बनाउने योजना उनको प्राथमिकतामा छ । व्यवस्थित पूर्वाधार, निजी क्षेत्रसँग सहकार्य, लगानीमैत्री वातावरण र पारदर्शी कार्यान्वयन बिना सम्भावना साकार नहुने उहाले प्रष्ट पार्नु भयो ।
“भैरहवा अब ट्रान्जिट सिटी होइन, डेस्टिनेसन सिटी बन्नुपर्छ,” भन्ने नारासहित बोहराले रुपन्देही–३ लाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा उहाका यी योजनाले मतदातामाझ कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनले देखाउनेछ ।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : ०९:३३:५१ , २ हप्ता अगाडि