समृद्ध मर्चवारको परिकल्पना : एमाले उम्मेदवार प्रमोद यादवका एकीकृत विकास एजेण्डा

रुपन्देही खबर , ४०  पटक हेरिएको

भैरहवा, फागुन १७

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोद कुमार यादवले मर्चवार क्षेत्रलाई केन्द्रमा राख्दै समग्र विकासको एकीकृत खाका सार्वजनिक गर्नुभएको छ। कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुदलाई समान प्राथमिकतामा राख्दै “समृद्ध मर्चवार, खुसी मर्चवारबासी” अभियानलाई सफल बनाउने उहाँको घोषणा छ।

घरदैलो कार्यक्रमका क्रममा यादवले मर्चवारलाई कृषि उर्बर क्षेत्रका रूपमा घोषणा गरी लिफ्ट सिंचाइँलाई व्यवस्थित बनाउने, खेत–खेतमा पानी पु¥याउने र किसानको उत्पादन सिधै खरिद हुने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्मरीमाईमा निर्माणाधीन शीत भण्डार सम्पन्न गर्ने, सुविधासम्पन्न बिउबिजन केन्द्र सञ्चालन गर्ने र मर्चवारलाई ‘अन्न भण्डार’ का रूपमा स्थापित गर्न संघीय सरकारबाट विशेष कार्यक्रम ल्याउने उहाँको योजना छ।

पूर्वाधारतर्फ लुम्बिनी–मर्चवारी तथा मर्चवारी–भैरहवा सडक स्तरोन्नति, मर्चवार रिंगरोड निर्माण (तुनिहवा–बगौली–सेमरा–करौता हुँदै रोहिणीहवा–भगैयासम्म), भैरहवा विमानस्थलदेखि बेथरी–छपिया–बनघुसरी सडक सुधार, छपियादेखि लुम्बिनी जोड्ने सडक स्तरोन्नति तथा दानव नदीमा पक्की पुल निर्माण गर्ने एजेण्डा अघि सारिएको छ। तरेनी थुमुवामा छोटी भन्सार सञ्चालन गरी स्थानीय व्यापार प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

स्वास्थ्य र शिक्षामा प्रत्येक पालिकामा १५ शैयाको अस्पताल स्थापना, सुविधासम्पन्न अस्पताल सञ्चालन, कोटहीमाई मझगावास्थित डिग्री कलेजलाई व्यवस्थित गर्ने तथा कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना समेटिएको छ।

यसैगरी घरघरमा शुद्ध खानेपानी धारा जडान, चोक–चोकमा सार्वजनिक शौचालय, प्रत्येक गाउँपालिकामा दमकल व्यवस्था, डुबान क्षेत्र पहिचान गरी तटबन्ध निर्माणजस्ता कार्यक्रम पनि प्राथमिकतामा छन्। खेलकुद प्रवर्द्धनअन्तर्गत स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्ट्स एकेडेमी स्थापना, तीनै पालिकाको पायक पर्ने स्थानमा खेलमैदान निर्माण तथा फुटबल, भलिबल र क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई र केवटलिया समईमाई क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल गरिनेछ। २०७४ मा निर्वाचित हुँदा मर्चवारलाई खपडामुक्त क्षेत्र बनाएको स्मरण गर्दै यादवले अब शुद्ध खानेपानी विस्तारलाई मुख्य लक्ष्य बनाएको उल्लेख गर्नुभयो। उहाँले जेनजी पुस्ताको जोस र जेनवाई पुस्ताको अनुभवलाई संगालेर मर्चवारको समग्र रूपान्तरण गर्ने अठोट व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : १८:०४:५८ , २ घन्टा अगाडि