रुपन्देही खबर , ८६ पटक हेरिएको
भैरहवा, फागुन १७
रुपन्देहीको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ । जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्नु भएको वरिष्ठ नेता कैलाश गुरुङ पुनः जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।
भैरहवामा आयोजित एक कार्यक्रममा जनमत पार्टीका नेताहरूले गुरुङलाई स्वागत गर्दै पार्टीमा पुनः जिम्मेवारीसहित सक्रिय गराउने बताएका छन् । कार्यक्रममा बोल्दै गुरुङले देशमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै आफूले जनताको मुद्दा उठाउने स्पष्ट प्रतिबद्धतासहित जनमत रोजेको बताउनु भयो ।
“राजनीति पदका लागि होइन, उद्देश्यका लागि हुनुपर्छ,” गुरुङले भन्नु भयो , “जनताको आवाजलाई सशक्त रूपमा संसदसम्म पु¥याउन सक्ने शक्तिका रूपमा जनमत पार्टीलाई देखेको छु।”
कार्यक्रममा सहभागी नेताहरूले गुरुङको अनुभव र सक्रियताले रुपन्देहीसहित लुम्बिनी प्रदेशको संगठन विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले संगठन सुदृढीकरण र जनसम्पर्क अभियान तीव्र बनाउने रणनीति अघि सारेको छ।
गुरुङको पुनः प्रवेशलाई रुपन्देहीको चुनावी समीकरणमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रतिनिधि सभासम्म राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला यसले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : १८:२८:११ , २ घन्टा अगाडि