रुपन्देही खबर , ६१ पटक हेरिएको
भैरहवा,फागुन १७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भनी बाहिरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला समितिले उक्त समाचारको कडा शब्दमा खण्डन गर्दै त्यसलाई भ्रामक र आधारहीन ठहर गरेको छ ।
राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले जिल्ला समितिलाई कुनै जानकारी नै नदिई एकलौटी रूपमा विज्ञप्तिमा हस्ताक्षर गरी कांग्रेस उम्मेदवारलाई समर्थन गरेको भन्दै जिल्ला अध्यक्ष सागर प्रताप राणाले उक्त कार्य पार्टीको साङ्गठनिक नीति र अनुशासन विपरीत रहेको स्पष्ट पार्नु भएको छ ।
जिल्ला अध्यक्ष राणाद्वारा जारी प्रेस विज्ञप्तिमा आफ्नो पार्टीको तर्फबाट उक्त क्षेत्रमा उम्मेदवार नभएको अवस्थामा क्षेत्रीय सभापतिले आर्थिक प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको गम्भीर आरोप समेत लगाइएको छ ।
हालसम्म पार्टीले आधिकारिक रूपमा कुनै पनि दल वा उम्मेदवारलाई समर्थन नगरेको प्रस्ट पार्दै जिल्ला कार्यसमितिले क्षेत्रीय सभापतिको व्यक्तिगत निर्णयलाई पार्टीको आधिकारिक धारणा मान्न नसकिने स्पष्ट गरेको छ ।
निर्वाचनको ठीक अगाडि मतदातालाई प्रभावित पार्ने र भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै राप्रपाले आफ्ना सम्पूर्ण मतदाता, समर्थक तथा शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारबाट विचलित नहुन आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : १९:४३:३६ , २ घन्टा अगाडि