रुपन्देही–३ को चुनावी नक्सा बदलिँदै : प्रलोपाको उम्मेदवार र रास्वपा नेता राप्रपामा प्रवेश

रुपन्देही खबर , १२५  पटक हेरिएको

भैरहवा, फागुन १७

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर ३ मा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ । चुनावी माहोल तातिरहेको बेला दुई फरक दलका प्रभावशाली नेताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार विमलादेवी वि.क.ले पार्टीको साधारण सदस्यता र उम्मेदवार सूची दुवैबाट राजीनामा दिनु भएको छ । पार्टी संयोजकलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा उहाले मुलुकमा बढ्दो विदेशी हस्तक्षेप र धर्म–संस्कृतिमाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ ।

“मुलुकको वर्तमान अवस्था र राष्ट्रियतामाथि भइरहेको प्रहारले मलाई चिन्तित बनाएको छ,” उहाले भन्नु भयो ।, “राष्ट्रभक्ति शक्तिलाई बलियो बनाउन मैले राप्रपाका उम्मेदवार वरिष्ठ पाइलट गौरव बोहरालाई समर्थन गर्ने निर्णय गरेकी हु ।” उहाले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई ‘हलो’ चिन्हमा मतदान गर्न अपिल समेत गर्नु भएको छ । रुपन्देही–३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहरा चुनावी मैदानमा छन्।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका–३ का सभापति राजकुमार श्रेष्ठले पनि पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको घोषणा गरेका छन्। आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले रास्वपाको साधारण सदस्यता सहित सम्पूर्ण जिम्मेवारी त्यागेको जानकारी दिनु भएको छ ।

श्रेष्ठले राप्रपाका एजेण्डाहरूको प्रशंसा गर्दै भन्नु भयो , “राजसंस्था, हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी र भ्रष्टाचार अन्त्यका लागि राप्रपाको एजेण्डा नै अहिलेको आवश्यकता हो । त्यसैले रुपन्देही–३ मा वरिष्ठ क्याप्टेन गौरव बोहरालाई जिताउन म राप्रपामा समाहित भएको छु ।”

निर्वाचनको मुखैमा अन्य दलका नेताहरूले खुला रूपमा समर्थन जनाएपछि रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । राप्रपाका समर्थकहरूले ‘हलो’ चिन्हलाई राष्ट्र रक्षा र सुशासनको विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन् भने अन्य दलहरू पनि आफ्नो पक्षमा माहोल बनाउन सक्रिय देखिएका छन्। उपनिर्वाचनको परिणामले रुपन्देही–३ को आगामी राजनीतिक दिशा निर्धारण गर्ने आकलन गरिएको छ ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : २०:४०:५१ , २ घन्टा अगाडि