रुपन्देही खबर , ५० पटक हेरिएको
काठमाण्डौ, फागुन १९,
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो ।
चुनावलाई लक्षित गरी पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताउनुभयो । साथै सहज उपलब्धता र वितरण व्यवस्थापन नियमित राख्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
चुनावको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्नसमेत निर्देशन दिइएको उहाँले बताउनुभयो । सार्वजनिक बिदाका दिनमा समेत आयातनिर्यात कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थामा सहजीकरण र सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले डिजल÷पेट्रोल अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।
इन्धन नियमित भइरहेको र चुनाव अवधिभर नियमित हुने भएकाले सञ्चय गरेर राख्न नपर्ने निगमले जनाएको छ । कार्यकारी निर्देशक भट्टका अनुसार पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको छ ।
प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०९:०८:३५ , २ घन्टा अगाडि