रुपन्देही खबर , ६८ पटक हेरिएको
काठमाडौँ, फागुन १९
यूएईका प्रमुख विमानस्थलमा आक्रमणपछि रोकिएका उडान हिजो बेलुकादेखि सीमित रूपमा पुनः सञ्चालनमा आएका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिनपछि सीमित सङ्ख्यामा मात्रै उडान शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आबुधाबी विमानस्थल प्रशासनका अनुसार सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गए पनि आक्रमणअघिको अवस्थामा पूर्ण रूपमा उडान सञ्चालन हुन अझै केही समय लाग्नेछ।
यसैबीच इरानले खाडीका देशहरूप्रति आफ्नो कुनै शत्रुता नरहेको जनाएको छ। अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा जवाफी कारबाही गरेको इरानले छिमेकी राष्ट्रविरुद्ध लक्षित नभएको स्पष्ट पारेको हो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सैन्य अखडालाई लक्षित गरी रक्षात्मक आक्रमण गरिएको बताएका छन्। समाचार संस्था एएफपीका अनुसार अमेरिकी सैन्य अखडामाथि गरिएको कारबाहीलाई खाडी देशहरूविरुद्धको आक्रमणका रूपमा नहेर्न इरानले आग्रह गरेको छ।
यसअघि अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित केही सैन्य अधिकारी मारिएको दाबी गरिएको छ।
इरानले आफ्नो शत्रुता खाडी देशहरूसँग नभएको दोहोर्याए पनि दुबई, अबुधाबी र कुवेतलगायत देशका विमानस्थल निशानामा परेपछि क्षेत्रीय सुरक्षा अवस्था अझै संवेदनशील बनेको छ। अन्तर्राष्ट्रिय उडानमा आंशिक अवरोध कायमै रहेकाले यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।
प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०९:२३:३५ , २ घन्टा अगाडि