प्रारम्भिक मतगणनामा रास्वपाको लहर, चर्चित एमाले उम्मेदवार पछि

रुपन्देही खबर , ७२  पटक हेरिएको

भैरहवा, फागुन २२

हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ । धेरै क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रारम्भिक नतिजामा नेकपा एमालेका चर्चित उम्मेदवार पछि परेका छन् । सबैभन्दा चर्चित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा रास्वपाका बालेन्द्र शाहले ८ सय १४ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । एमालेका केपी शर्मा ओलीले ३ सय ८४ मत ल्याउनुभएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पनि पछि पर्नुभएको छ । रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६ सय ९ मत पाउनुभएको छ ।

यसैगरी काठमाण्डौ क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि पर्नुभएको छ । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ४१२ मत र एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि पर्नुभएको छ । रास्वपाका राजीव खत्रीले २ हजार मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याउनुभएको छ । प्रारम्भिक मतपरिणाम अनुसार काठमाण्डौसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् ।

प्रकाशित मिति: २०२६-०३-०६ , समय : ०७:२५:०४ , २ घन्टा अगाडि