रुपन्देही खबर , १४९ पटक हेरिएको
भैरहवा,फागुन २३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोद कुमार यादव ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
यादवले रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनिया सहित सबै निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै जिल्ला र क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो। आवश्यक पर्दा आफू सधैँ सहयोगका लागि तयार रहने पनि उहाँले बताउनुभयो।
“चुनावको परिणाम स्वीकार गर्नुपर्छ, मलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि जनताको साथमै हामी रहनेछौँ,” यादवले भन्नुभयो। उहाँले देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आएको उल्लेख गर्दै रवि लामिछाने र बालेन शाह लाई पनि शुभकामना दिनुभयो। “यो देशलाई राम्रोसँग चलाउनुस्, मेरो शुभकामना छ,” यादवले भन्नुभयो।
रुपन्देही–४ बाट सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार कन्हैया बनिया २८ हजार ६६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको थियो।bयादव यसअघि २०७४ सालमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।
प्रकाशित मिति: २०२६-०३-०७ , समय : ०९:५०:४५ , २ घन्टा अगाडि