रुपन्देही खबर , ३५ पटक हेरिएको
भैरहवा,फागुन २३
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिएको छ।
पछिल्लो अपडेट अनुसार रास्वपाले हालसम्म ३६ सिट जित्दै प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको छ। यसले परम्परागत दलहरूलाई कडा चुनौती दिएको देखिएको छ।
मतगणनाको पछिल्लो विवरणअनुसार नेपाली कांग्रेस ६ सिट जित्दै दोस्रो स्थानमा खुम्चिएको छ। कांग्रेसबाट डोटी–१ मा भरतबहादुर खड्का १४ हजार ८९७ मतले विजयी भएका छन् भने दैलेख–१ मा बासना थापा १२ हजार ३७२ मत र तेह्रथुम–१ मा सन्तोष सुब्बा ११ हजार ५६१ मतले विजयी भएका छन्।
त्यस्तै रसुवा–१ मा मोहन आचार्य १० हजार ६५६ मतले विजयी भएका छन् भने मुस्ताङ–१ मा योगेश गौचन थकाली ३ हजार ३०७ मतले जित हासिल गरेका छन्। मनाङ–१ मा टेकबहादुर गुरुङ २ हजार ४१५ मतले विजयी भएका छन्।
हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ। नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ले २ सिट जित्दै ९ स्थानमा अग्रता लिएको छ। यस्तै नेकपा ले २ सिट जित्दै १० स्थानमा अग्रता कायम गरेको छ।
विशेषगरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह ले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा करिब ३५ हजार मतले अग्रता बनाएका छन्।
हालको निर्वाचन परिणामले रास्वपालाई देशको राजनीतिक परिदृश्यमा बलियो शक्तिका रूपमा स्थापित गरेको देखिन्छ। नतिजाले परम्परागत दलहरूको प्रभाव चुनौतीपूर्ण बनेको संकेत दिएको छ भने नयाँ राजनीतिक शक्तिप्रति जनमत झुकेको स्पष्ट देखिएको छ।
प्रकाशित मिति: २०२६-०३-०७ , समय : १५:१८:४७ , २ घन्टा अगाडि