रुपन्देही खबर , ८० पटक हेरिएको
भैरहवा,फागुन २४
रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापा ले जनताले देखाएको अपार आशा र विश्वासलाई अब काममार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शनिबार भैरहवामा मतदाताहरुलाई धन्यवाद दिँदै उहाँले रुपन्देही–३ का मतदाताले ऐतिहासिक निर्णय गरेको बताउनुभयो। जनताले अत्यधिक मतले विजयी गराउनु आफ्नो व्यक्तिगत जित मात्र नभई सम्पूर्ण रुपन्देहीबासी र देशकै जीत भएको उहाँको भनाइ थियो।
“जनताले मतमार्फत परिवर्तनको सुनामी ल्याउनुभएको छ,” उहाँले भन्नुभयो, “अब त्यो विश्वासलाई व्यवहारमा उतार्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।”
डा. थापाले मतदाताप्रति शब्दमा मात्र धन्यवाद दिएर नपुग्ने भन्दै अब परिणाममुखी काम गरेर जनताको भरोसा कायम राख्ने समय आएको बताउनुभयो। उहाँले अहिलेको समय देशका लागि महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै जनताको अपेक्षा र विश्वासलाई गम्भीरतापूर्वक बुझेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार यसपटक जनताले परिवर्तनको स्पष्ट म्यान्डेट दिएका छन्। “हामी धेरै बोल्ने होइन, काम गरेर देखाउने विश्वास जनताले गर्नुभएको छ,” उहाँले भन्नुभयो, “अब नयाँ र सुनौलो नेपाल निर्माण गर्ने अभियानमा सबै मिलेर अघि बढ्नुपर्छ।” उहाँले देशमै बसेर पनि ठूलो परिवर्तन सम्भव रहेको उल्लेख गर्दै सबै नेपाली एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो। रास्वपाका उम्मेदवार डा. लेखजंग थापा ५८ हजार ८ सय १४ मत प्राप्त गर्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
प्रकाशित मिति: २०२६-०३-०८ , समय : १३:४५:३८ , २ घन्टा अगाडि