भीम अस्पताल पुगे सांसद डा. लेखजंग थापा, स्तरोन्नति र सेवा सुधारमा जोड

रुपन्देही खबर , ११२  पटक हेरिएको

भैरहवा, फागुन २७

रुपन्देही क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले सिद्धार्थनगर–१३ स्थित भीम अस्पतालको अवलोकन गर्नुभएको छ। अस्पताल अवलोकनका क्रममा उहाँले अस्पताल प्रमुख डा. वर्षा थापा सहित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाट गर्दै अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार, उपकरण, जनशक्ति तथा व्यवस्थापनका विषयमा जानकारी लिनुभएको थियो।

वि.सं. १९९० सालमा ३ शैयाबाट सुरु भएको भीम अस्पताल हाल विस्तार हुँदै ५० शैया सरकारी र ५७ शैया अस्पताल विकास समितितर्फ गरी कुल १०७ शैया क्षमतामा पुगेको छ। जसमध्ये ८५ शैया हाल सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ। झण्डै एक शताब्दी पुरानो इतिहास बोकेको यो अस्पताल रुपन्देही तथा आसपासका हजारौं नागरिकका लागि महत्वपूर्ण स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको छ।

अवलोकनपछि सांसद थापाले अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। साथै आवश्यक स्वास्थ्यकर्मी तथा विशेषज्ञ जनशक्ति व्यवस्थापन, आधुनिक उपकरण थप, आकस्मिक तथा आईसीयू सेवा विस्तार लगायत विषयमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई आग्रह गर्नुभएको थियो।

उहाँले बिरामीले सहज, सम्मानजनक र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन सरसफाइ, व्यवस्थापन तथा सेवा प्रक्रियालाई अझ पारदर्शी र अनुशासित बनाउनुपर्ने उल्लेख गर्नुभयो। साथै नन–मेडिकल स्टाफ र सुरक्षाकर्मीहरूलाई आधारभूत स्वास्थ्य सचेतना तथा आपतकालीन सहयोगसम्बन्धी तालिम दिनुपर्ने सुझाव पनि दिनुभयो।

सांसद थापाले भीम अस्पताललाई समयअनुसार प्रविधि, दक्ष जनशक्ति र राम्रो व्यवस्थापनसहित लुम्बिनी क्षेत्रकै स्तरीय सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै यसको स्तरोन्नति र सेवा विस्तारका लागि आफू प्रतिबद्ध रहने बताउनुभयो। उहाँले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएकाले यसको सुनिश्चितताका लागि राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १०:५८:३० , २ घन्टा अगाडि