ओमसतिया–५ मा उद्योगजन्य प्रदूषणविरुद्ध स्थानीयको आन्दोलन, सुधार नभए थप कडा कदमको चेतावनी

रुपन्देही खबर , १०९  पटक हेरिएको

भैरहवा, चैत ३

रूपन्देहीको ओमसतिया गाउँपालिका–५ अन्तर्गत गौरी, भेलाई र लक्ष्मीपुरका स्थानीय बासिन्दाहरूले माया तेल उद्योगबाट निस्किने फोहोर पदार्थ खुलेआम सार्वजनिक कुलोमा बगाइँदा स्वास्थ्य, कृषि र वातावरणमा गम्भीर जोखिम बढेपछि आज शान्तिपूर्ण आन्दोलन गरेका छन्।

स्थानीयका अनुसार तेलीय फोहोर र कालो, गन्धयुक्त तरल पदार्थ कुनै प्रशोधन नगरी कम्पनी परिसर बाहिरको कुलोमा बगाइँदै आएको छ। यो कुलो ओमसतिया–५ का किसानको खेतबारी सिँचाइ, बस्ती आसपासको पानी निकास र वर्षायाममा अन्य वडातर्फ बग्ने मुख्य स्रोत भएकाले तत्काल रोक्न स्थानीयले माग गरेका छन्।

कुलोको पानी खाँदा गाई–भैँसी र अन्य पशुपंक्षीमा असर परेको र मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव देखिन थालेको छ। तेज दुर्गन्धका कारण बस्तीमा बस्न कठिन भएको, बालबालिकामा छाला रोगको जोखिम बढेको र टाउको दुख्ने समस्या देखिएको स्थानीयहरूले बताएका छन्।

स्थानीय किसान संदेश कुमार यादवले कुलोको पानीका कारण बाली नष्ट हुँदै गएको बताए। “पहिले यही कुलोको पानीले तरकारी र धान सिँचाइ हुन्थ्यो। अहिले पानी कालो छ, तेल तैरिन्छ, गन्हाउँछ। सिँचाइ गरेपछि बाली सुक्छ, जमिन बिग्रँदैछ,” उनले गुनासो गरे।

प्रदूषणका कारण दैनिक जीवन प्रभावित भएको भन्दै स्थानीयले स्वच्छ वातावरण, सुरक्षित खानेपानी र पशुधन संरक्षण सुनिश्चित गर्न माग गरेका छन्। आन्दोलनका क्रममा उद्योग व्यवस्थापकसँग प्रत्यक्ष छलफल गरिएको थियो। उद्योग पक्षले फोहोर व्यवस्थापनमा सुधार गर्ने र स्पष्ट योजना आगामी शुक्रबारसम्म सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय बासिन्दाहरूले तोकिएको समयसीमाभित्र ठोस कदम नचालिएमा शनिबारदेखि थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपालको वातावरण संरक्षण ऐन, २०७६ र औद्योगिक मापदण्ड अनुसार कुनै पनि उद्योगले फोहोर प्रशोधन प्रणाली जडान गरी वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्नुपर्ने भए तापनि माया तेल उद्योगले यी कानुनी मापदण्डको अवहेलना गर्दै खुला कुलोमा फोहोर बगाइरहेको स्थानीय राधेश्याम यादवले आरोप लगाएका छन्।

स्थानीयका अनुसार पटक–पटक उजुरी र गुनासो गर्दा पनि प्रभावकारी अनुगमन नभएको, उद्योगलाई सुधारका लागि बाध्य नपारेको र प्रशासन मौन बसेको आशंका उब्जिएको छ।

स्थानीयले उच्चस्तरीय अनुगमन, फोहोर प्रशोधन प्रणाली अनिवार्य जडान, कुलो र खेतमा पुगेको प्रदूषण रोक्ने स्पष्ट कार्ययोजना, स्वास्थ्य र वातावरणीय असरको वैज्ञानिक अध्ययन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: २०२६-०३-१७ , समय : १६:०२:०८ , २ घन्टा अगाडि