मध्यपूर्वमा ८२ हजार नेपालीको अनलाइन दर्ता, असुरक्षा महसुस गर्ने संख्या घट्दै

रुपन्देही खबर , ८१  पटक हेरिएको

काठमाडौँ,

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा मध्यपूर्वबाट हालसम्म ८२ हजार १ सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री ले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार दर्ता भएकामध्ये झण्डै ६ हजार जनाले प्रारम्भमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षा महसुस गर्नेहरूको संख्या क्रमशः घट्दै गएको उहाँले दाबी गर्नुभयो।

मध्यपूर्व क्षेत्रमा इजरायल, अमेरिका र इरान बीच बढ्दो तनावका कारण नेपालीहरू चिन्तित देखिएका छन्। यसबीच विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो।

मन्त्रालयले आफ्ना १० वटै कूटनीतिक नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको जनाएको छ।

त्यसैगरी, हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको मन्त्रालयले स्पष्ट पारेको छ। जेद्दा मा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको जानकारी दिँदै मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार गम्भीर रहेको उल्लेख गरेको छ। आवश्यक परे उद्धारका लागि सरकार तयार रहेको पनि मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: २०२६-०३-२० , समय : १६:१८:४१ , २ घन्टा अगाडि