रुपन्देही खबर , ७७ पटक हेरिएको
भैरहवा, चैत ७
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। विशेषगरी लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात समेत भइरहेको छ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने अनुमान गरिएको छ।
दिउँसोपछि विशेषगरी मध्य र पूर्वी क्षेत्रमा हावाहुरीसहित वर्षा थप सक्रिय हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। हिजो पश्चिम र मध्य क्षेत्रमा पनि मध्यम वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
महाशाखाका अनुसार आज रातिदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। यसैबीच हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा र हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद्हरूले हावाहुरी र चट्याङका बेला सकेसम्म घरभित्रै बस्न तथा बाहिर भए सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।
प्रकाशित मिति: २०२६-०३-२१ , समय : ०८:४८:३२ , २ घन्टा अगाडि