इरानमा सैन्य दबाबसँगै वार्तामार्फत समाधान खोज्ने ट्रम्पको रणनीति

एजेन्सी , ७८  पटक हेरिएको

रुपन्देही,चैत ११

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मा दिनुभएको छ । उपराष्ट्रपति र विदेशमन्त्रीले इरानसँग वार्ताको नेतृत्व गरिरहेका ट्रम्पले बताउनुभएको छ । उहाँले इरानसँग सम्झौता हुने आशा पनि व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको बढ्दो तनावकाबीच आफ्नो सैन्य रणनीति क्रमशः घटाउँदै लगेको बताउनुभएको छ । तर उहाँका पछिल्ला अभिव्यक्ति र व्यवहार हेर्दा, एकातिर तनाव कम गर्ने संकेत देखिए पनि अर्कातिर कडा चेतावनी जारी राखिएकोले ट्रम्पको वास्तविक योजना के हो ? भन्नेमा अझै अन्योल रहेको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले सार्वजनिक रूपमा सैन्य आक्रमण कम गर्ने बताउनुभएको छ । जसले तनाव केही कम हुने संकेत गर्छ । तर त्यही समयमा उहाँले इरानले स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाएको नाकाबन्दी नहटाए इरानका महत्त्वपूर्ण विद्युत् संरचनाहरू पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी पनि दिनुभएको छ । यो कदमले विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ ।

यद्यपि, प्रस्तावित आक्रमणहरू स्थगित गर्दै कूटनीतिक बाटो रोज्ने ट्रम्पले संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पले इरानसँग ‘रचनात्मक वार्ता’ भएको दाबी गरे पनि इरानी पक्षले भने कुनै औपचारिक सम्पर्क नभएको प्रतिक्रिया दिएको छ ।

यसले दुवै देशबीच विश्वासको कमी देखाउँछ । यसैबीच, अमेरिका–इरान तनाव कम गर्न विभिन्न देशहरू मध्यस्थतामा सक्रिय भएका छन् । पाकिस्तान, टर्किए र इजिप्ट जस्ता देशहरूले वार्ता सहज बनाउन पहल गरिरहेका छन् । यी प्रयासहरूले कूटनीतिक समाधानको सम्भावना खुला राखेका छन् ।

अर्कोतर्फ, अमेरिकी उपराष्ट्रपति जेडी भान्स लामो समयसम्म चल्ने युद्धका आलोचकका रूपमा चिनिनुहुन्छ । विश्लेषकहरूका अनुसार, सैन्य रणनीतिबारे अमेरिकी नीतिमा परिवर्तन आएको संकेत दिएको छ । समग्रमा हेर्दा, ट्रम्पको इरानसम्बन्धी योजना दुई धारमा अघि बढिरहेको देखिन्छ ।

एकातिर सैन्य दबाब कायम राख्ने र अर्कातिर वार्तामार्फत समाधान खोज्ने देखिन्छ । तर स्पष्ट युद्ध अन्त्यको संकेत अझै देखिएको छैन । जसले आउँदा दिनहरूमा यो तनाव कुन दिशातर्फ जान्छ भन्ने अन्योल छ ।

प्रकाशित मिति: २०२६-०३-२५ , समय : ०९:४५:४७ , १ घन्टा अगाडि