रुपन्देही खबर , ८८ पटक हेरिएको
भैरहवा, चैत ११
मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियाले आफ्नो पद तथा गोपनीयताको शपथ भोजपुरी भाषामा लिनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बनियाले आफ्नो मातृभाषाप्रतिको सम्मान प्रकट गर्दै शपथका लागि भोजपुरी भाषा रोज्नुभएको हो । संघीय संसद् सचिवालयले नेपालीबाहेकका अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि उपलब्ध गराएको समयसीमाभित्रै उहाँले भोजपुरीमा शपथ लिने गरी आफ्नो विवरण बुझाउनुभएको छ ।
यसअघि २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा पनि बनियाले भोजपुरी भाषामै शपथ लिनुभएको थियो । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले संघीय संसद्मा पनि आफ्नै मातृभाषा रोज्नुभएको हो । संसद् सचिवालयले मातृभाषामा शपथ लिन चाहनेहरूका लागि सोमबारसम्म नाम टिपाउने समय तोकेको थियो ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरिएको छ । उक्त समारोहमा नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको छ । आफ्नो क्षेत्रका नागरिक र मातृभाषाको प्रतिनिधित्व गर्दै बनियाले लिन लाग्नुभएको यो शपथलाई विशेष चासोका साथ हेरिएको छ ।
प्रकाशित मिति: २०२६-०३-२५ , समय : १०:२४:०१ , २ घन्टा अगाडि