रुपन्देही खबर , ५६ पटक हेरिएको
भैरहवा, चैत १८
आँखादानसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले यु.सि.यम.यस. शिक्षण अस्पताल, लुम्बिनी नेत्रालय प्रा.लि. र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमाडौँ बीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार अब कुनै पनि व्यक्तिले मृत्यु पश्चात् आफ्नो स्वेच्छाले आँखाको नानी (कोर्निया) दान गर्न चाहेमा उक्त सेवा भैरहवास्थित यु.सि.यम.यस. शिक्षण अस्पतालमार्फत उपलब्ध हुनेछ।
आँखादानलाई ‘महादान’ मानिने गरिन्छ। यसमार्फत दृष्टिविहीन व्यक्तिहरूलाई नयाँ जीवन र उज्यालो संसार देखाउने अवसर प्रदान गर्न सकिन्छ। चिकित्सकका अनुसार आँखादान गर्दा आँखाको पूरै भाग नभई केवल नानी (कोर्निया) मात्र लिइने भएकाले दाताको अनुहारमा कुनै विकृति आउँदैन। साथै जुनसुकै उमेर, लिङ्ग वा रक्त समूहका व्यक्तिले, चश्मा प्रयोग गर्ने, मोतीविन्दु वा मधुमेह भएका व्यक्तिले समेत आँखादान गर्न सक्नेछन्।
सम्झौताअनुसार आँखादानसम्बन्धी सम्पूर्ण प्रक्रिया व्यवस्थापन, स्वास्थ्यकर्मीलाई शिक्षा तथा तालिम, प्राविधिक सहयोग, परामर्श, आवश्यक कागजी प्रक्रिया तथा जनचेतनामूलक सामग्रीको व्यवस्थापन लुम्बिनी नेत्रालय प्रा.लि. ले गर्नेछ। त्यस्तै, कोर्नियाको संकलन, परीक्षण, सञ्चय, गुणस्तर कायम, वितरण तथा आवश्यक तालिमको व्यवस्था नेपाल आँखा बैंक ले गर्नेछ।
सम्झौता कार्यक्रममा अजय कुमार पि.एस., प्रा.डा. लक्ष्मी पाठक, प्रा.डा. साधन मुखी, सनत कुमार श्रेष्ठ, हिरा बहादुर शाह, डा. रिता गुरुङ्ग तथा डा. लिना बज्रचार्य लगायतको उपस्थिति रहेको थियो। यस सम्झौतासँगै लुम्बिनी क्षेत्रमा आँखादानसम्बन्धी सेवा विस्तार भई दृष्टिविहीन व्यक्तिहरूका लागि उपचारको पहुँच थप सहज हुने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२६-०४-०१ , समय : २०:५१:०१ , १ घन्टा अगाडि