इरानद्वारा ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार

एजेन्सी , ५८  पटक हेरिएको

एआइ तस्वीर

भैरहवा,चैत २४

इरानले अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्कीएका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई हिजो ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए । प्रस्तावमा हर्मुज जलमार्ग खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो ।

युद्धविरामले आफूविरुद्ध युद्धको तयारी गर्न सघाउने इरानको आशंका छ । अमेरिकाले पनि यस युद्धविरामको प्रस्तावमा स्वीकृति नदिएको अमेरिकी समाचारसंस्था सीएनएनले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफमार्फत यो प्रस्ताव पठाइएको थियो ।

यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित देखिएको छ । केही समयअघि इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी सुनिश्चित भएपछि मात्रै युद्ध रोक्न सकिने बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि बिहानसम्म हर्मुज जलमार्ग खोल्न सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत चेतावनी दिनुभएको छ । यसलाई पनि इरानले अस्वीकार गरेको छ ।

यसअघि हिजो पाकिस्तानको नेतृत्वमा इजिप्ट र टर्किएका मध्यस्थकर्ताहरू रहेको टोलीले बनाएको युद्धविरामको योजनालाई ‘इस्लामावाद सम्झौता’ नाम दिइएको छ । ट्रम्पले युद्धविरामको प्रस्तावमाथि अध्ययन गरिरहेको बताउनुभएको छ ।

प्रकाशित मिति: २०२६-०४-०७ , समय : ०९:४७:१७ , १ घन्टा अगाडि