रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रुपन्देही खबर , ६१  पटक हेरिएको

नवलपरासी,चैत २७

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका लुम्बिनी प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा भएको छ । सरकारले निर्धारण गरेको ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा एवम् सुनिश्चितता मापदण्ड’ पूरा गरेपछि रामग्रामलाई मान्यता प्रदान गरेको हो । जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक प्रमुख भगौती यादव रुदलले सबै मापदण्ड पूरा गरेको आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चित पालिका घोषणा गर्नुभयाे।

घोषणाका लागि मापदण्ड अनुसार कम्तीमा ९० प्रतिशत गर्भवती महिलाले चार पटक गर्भ जाँच गरेको, ९५ प्रतिशत सुत्केरी दक्ष प्रसुतिकर्मीद्वारा स्वास्थ्य संस्थामै गराएको, घरमा हुने प्रसुति शून्य भएको तथा कम्तीमा ९० प्रतिशतले तीन पटक सुत्केरी पछिको जाँच गराएको सुनिश्चित भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाको स्वीकृति प्रदान गर्ने व्यवस्था रहेको छ ।

नगरपालिकाका अनुसार रामग्राममा घरमै सुत्केरी हुने अवस्था अन्त्य भएको छ । चालू आर्थिक वर्षमा ८ सय १६ जना सुत्केरी भएकोमा ८ सय १४ जना स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् भने दुई जना अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो ।

यसैबीच, रामग्राम पूर्ण खोप सुनिश्चित भएको पालिका पनि घोषणा भएको छ । घरधुरी सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३ हजार ४ सय २६ बालबालिकामध्ये २३ जना खोपबाट वञ्चित रहेको भेटिएपछि स्वास्थ्यकर्मीले उनीहरूलाई पूर्ण खोप प्रदान गरेका थिए । जिल्ला स्तरबाट प्रमाणीकरण भएपछि घोषणा सम्भव भएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनुभयो ।

प्रकाशित मिति: २०२६-०४-१० , समय : २२:०८:०६ , १ घन्टा अगाडि