रुपन्देही खबर , १०५ पटक हेरिएको
भैरहवा, वैशाख १३
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा व्यापक अनुगमन गरिएको छ। मापदण्डविपरीत तथा इजाजतबिना सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा गरिएको उक्त अनुगमनका क्रममा १७ वटा मेडिकल तथा स्वास्थ्य संस्था बन्द गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गणेश सापकोटाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अशोक जी।सी।, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी स्वास्थ्य प्रमुख उमादेवी थापा, तथा सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले शुक्रवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म भैरहवा क्षेत्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका मेडिकल क्लिनिक, फार्मेसी तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो।
अनुगमनका क्रममा धेरैजसो मेडिकलहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको, केही संस्थाले सम्बन्धित निकायबाट नवीकरण नगरेको, योग्य प्राविधिक जनशक्ति बिना सेवा दिइरहेको, औषधि व्यवस्थापनमा लापरबाही देखिएको, तथा स्वास्थ्य सेवा सञ्चालनका लागि तोकिएका न्यूनतम मापदण्डहरू पालना नगरेको पाइएको थियो। त्यस्तै, कतिपय स्थानमा औषधि बिक्री वितरण सम्बन्धी नियम उल्लङ्घन गर्दै चिकित्सकको सिफारिसबिना औषधि बिक्री गरिएको समेत भेटिएको टोलीले जनाएको छ।
यस्ता गम्भीर कमजोरी देखिएपछि मापदण्डविपरीत सञ्चालन भइरहेका १७ वटा मेडिकल तथा फार्मेसीहरूलाई तत्कालका लागि बन्द गराइएको ९डीएसपी० सापकोटाले जानकारी दिनुभयो । साथै, अन्य केही संस्थाहरूलाई आवश्यक कागजात अद्यावधिक गर्न, दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न, र मापदण्डअनुसार सेवा सञ्चालन गर्न कडा निर्देशन दिइएको छ।
अनुगमन टोलीका संयोजक ज्ञवालीले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएकाले लापरबाही सह्य नहुने स्पष्ट पार्दै नियमविपरीत सञ्चालन हुने स्वास्थ्य संस्थामाथि आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनी दिनु भयो । उहाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर नियमित अनुगमनलाई निरन्तरता दिइने पनि बताउनु भयो ।
त्यसैगरी, स्वास्थ्य प्रमुख उमादेवी थापाले औषधि तथा स्वास्थ्य सेवामा गुणस्तर कायम गर्नु अत्यावश्यक रहेको उल्लेख गर्दै मापदण्ड पालना नगर्ने संस्थाहरूले सेवाग्राहीको ज्यानसँग खेलवाड गर्ने जोखिम हुने बताउनु भयो । उहाले सबै स्वास्थ्य संस्थालाई तोकिएको कानुनी प्रक्रिया र मापदण्डअनुसार सञ्चालन हुन आग्रह गर्नु भयो ।
प्रहरी निरीक्षक अशोक जी।सी।ले पनि अनुगमन अभियानलाई प्रभावकारी बनाउन सुरक्षा निकायको तर्फबाट आवश्यक सहयोग जारी रहने बताउँदै गैरकानुनी गतिविधि नियन्त्रणमा कडाइ गरिने जानकारी दिनु भयो । सिद्धार्थनगर नगरपालिकाले पनि स्थानीय तहको हैसियतले स्वास्थ्य सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाउँदै यस्ता अनुगमनलाई निरन्तरता दिने र आवश्यक परे थप कडाइ गरिने जनाएको छ।
पछिल्लो समय भैरहवा क्षेत्रमा बिना अनुमति तथा मापदण्डविपरीत सञ्चालनमा रहेका मेडिकल तथा स्वास्थ्य संस्थाहरूको संख्या बढ्दै गएको गुनासो आएपछि सरोकारवाला निकायहरू सक्रिय भएका हुन्। यस प्रकारको अनुगमनले अव्यवस्थित तथा गैरकानुनी रूपमा सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूलाई नियन्त्रणमा ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-२६ , समय : १०:३८:२० , २ घन्टा अगाडि