रुपन्देही खबर , ५८ पटक हेरिएको
काठमाण्डौ,बैशाख १३
सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिशका आधारमा अध्यागमन विभागले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाएको हो ।
विभागले उनीहरूलाई कालोसूचीमा राखेको छ । यसअघि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बमा राखेको थियो । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।
छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । यसअघि आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले समयअघि नै चुनाव गर्न लागेपछि राखेपले गएको चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
प्रकाशित मिति: २०२६-०४-२६ , समय : २३:००:०६ , २ घन्टा अगाडि