रुपन्देही खबर , ४६ पटक हेरिएको
भैरहवा, वैशाख १८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगातार तीन दिनको सार्वजनिक बिदाका बीच बिरामीले सेवा लिन नपाउने अवस्था आउन नदिन आज देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आज, भोलि र पर्सि सार्वजनिक बिदा परेकाले स्वास्थ्य सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा बिदाका कारण सरकारी अस्पतालहरूको नियमित सेवा प्रभावित हुन सक्ने भएकाले आज शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको उल्लेख छ।
तर, मन्त्रालयको उक्त निर्णयप्रति नेपाल चिकित्सक संघ ले आपत्ति जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै निर्णयलाई अव्यवहारिक र अवैज्ञानिक भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। संघका अनुसार डाक्टर तथा स्वास्थ्यकर्मी पनि श्रमिक नै भएकाले अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसका दिन सेवा सञ्चालन गराउनुले उनीहरूमाथि अन्याय हुने ठहर गरिएको छ। साथै, पर्याप्त तयारी र समन्वयबिनाको यस्तो निर्णयले स्वास्थ्यकर्मीको मनोबलमा असर पार्ने संघको भनाइ छ।


प्रकाशित मिति: २०२६-०५-०१ , समय : १०:०५:२३ , २ घन्टा अगाडि